काठमाडौं- शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले करिब १४ अर्ब ८८ करोड रुपैयाँ बराबरको बैंकिङ सुविधा उपयोग गर्दै लगानी विस्तार गरिरहेको अवस्थामा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको क्रेडिट रेटिङ यथावत् राख्दै यसअघि कायम गरिएको ‘रेटिङ वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ हटाएको छ।
इन्फोमेरिक्स नेपालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीको इस्युअर रेटिङ ‘बीबीबी माइनस (इश्युअर)’ १० अर्ब ७६ करोड ९८ लाख रुपैयाँ बराबरको दीर्घकालीन बैंक सुविधा ‘‘बीबीबी माइनस (इश्युअर)’ तथा ४ अर्ब ११ करोड रुपैयाँ बराबरको अल्पकालीन बैंक सुविधा ‘आइआरएन ए३’ रेटिङ पुनः पुष्टि गरिएको छ। साथै यी सबै रेटिङलाई निगेटिभ वाचबाट हटाइएको छ।
रेटिङ एजेन्सीका अनुसार कम्पनीको सञ्चालन नियमित रूपमा जारी रहेको, वित्तीय अवस्थामा कुनै उल्लेखनीय नकारात्मक परिवर्तन नदेखिएको तथा ऋणको साँवा–ब्याज भुक्तानी समयमै भइरहेको मूल्याङ्कनपछि निगेटिभ वाच हटाउने निर्णय गरिएको हो।
इन्फोमेरिक्स नेपालले कम्पनी व्यवस्थापनबाट प्राप्त प्रमाणपत्रका आधारमा पनि कम्पनीको वित्तीय तथा सञ्चालन अवस्था सामान्य रहेको पुष्टि भएको जनाएको छ।
यद्यपि, कम्पनीको सञ्चालन, वित्तीय प्रदर्शन तथा ऋण भुक्तानी क्षमतामा भविष्यमा आउने कुनै पनि महत्त्वपूर्ण परिवर्तनलाई निरन्तर निगरानी गरिने र त्यस्ता विषय आगामी रेटिङका प्रमुख आधार हुने प्रतिवेदनमा उल्लेख छ।
'‘बीबीबी माइनस (इश्युअर)' रेटिङले कम्पनीमा ऋण तिर्ने क्षमता पर्याप्त भए पनि प्रतिकूल व्यावसायिक वा आर्थिक परिस्थितिको प्रभाव पर्न सक्ने जनाउँछ भने 'ए३' रेटिङले अल्पकालीन दायित्व समयमै पूरा गर्ने क्षमता सन्तोषजनक रहेको संकेत गर्छ।
शौर्य सिमेन्ट नेपालका प्रमुख सिमेन्ट उत्पादकमध्ये एक हो। कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट प्राप्त दीर्घकालीन र अल्पकालीन गरी १४ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बैंकिङ सुविधा उपयोग गर्दै आफ्नो उत्पादन क्षमता तथा व्यवसाय विस्तार गरिरहेको छ।