मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट भोजपुरका किसान लाभान्वित

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २३ २०८३
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट भोजपुरका किसान लाभान्वित

सुन्तला बाली क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ११ वटा कृषि फर्मले अनुदान पाएका छन्। यसअन्तर्गत सिँचाइ पोखरी निर्माण, बिरुवा, पाइप वितरण तथा कृषि यान्त्रीकरणमा सहयोग गरिएको छ।

भोजपुर- राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा सञ्चालन गरिएका विभिन्न अनुदानमुखी कार्यक्रमहरूले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न भूमिका खेलेको छ। सुन्तला, अलैँची तथा तरकारीखेती विस्तारका लागि प्रदान गरिएको अनुदान र प्राविधिक सहयोगले कृषिमा लाग्न किसानलाई थप हौसला मिलेको हो।

कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवासभाअन्तर्गत रहेको जोन प्राविधिक एकाइ भोजपुरले जिल्लामा अलैँची ‘सुपर जोन’ सञ्चालन गरेको छ। यसअन्तर्गत नौ स्थानीय तहमध्ये सात स्थानीय तहका ३५ वडाहरू समेटिएका छन्। यस्तै, सुन्तलाखेती प्रवर्द्धनका लागि पाँच स्थानीय तहका २६ वडामा ‘सुन्तला जोन’ स्थापना गरिएको छ।

जोन प्राविधिक एकाइ भोजपुरका प्रमुख कौसिला विष्टका अनुसार यी कार्यक्रममार्फत किसानलाई अनुदानसँगै आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ। चालु आवमा मात्र १०९ जना किसानले विभिन्न शीर्षकमा अनुदान सहयोग प्राप्त गरेका छन्।

अनुदान कार्यक्रमको प्रभावले किसान प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। सुन्तला र अलैँचीखेतीसँगै अन्य बालीमा पनि सहयोग विस्तार गरिँदा किसानहरू व्यावसायिक कृषितर्फ उन्मुख हुँदै गएको देखिन्छ।

कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत भोजपुर-५ की सङ्गीता श्रेष्ठले व्यावसायिक तरकारी तथा खुर्सानीखेती गर्दै आएकी छिन्। यस कार्यक्रमका लागि कार्यालयले चार लाख अनुदान उपलब्ध गराएको छ भने ५० प्रतिशत लागत साझेदारी किसानकै रहेको छ। सोही कार्यक्रममार्फत पाँचवटा कृषि फर्मलाई चार-चार लाखका दरले अनुदान सहयोग प्रदान गरिएको छ।

त्यसैगरी, भोजपुर नगरपालिका-३ गुप्तेश्वरका किसान हरिप्रसाद प्रधानले कार्यालयबाट प्राप्त सहयोगले कृषिमा लाग्न थप प्रेरणा मिलेको बताए। उनले चालु आवमा अनुदान सहयोगमा पक्की सिँचाइ पोखरी निर्माण गर्नुका साथै २० रोपनी क्षेत्रफलमा ५०० वटा सुन्तलाका बिरुवा रोपेर खेती विस्तार गरेको जानकारी दिए।

आव २०८२/८३ मा सञ्चालन भएका योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जिल्लास्तरका सरोकारवालाको सहभागितामा अन्तर-निकाय संयुक्त अनुगमनसमेत गरिएको छ।

भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले अनुगमनका क्रममा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएको पाइएको बताए। कार्यालयबाट अनुदानमा सञ्चालन गरिएका कार्यक्रमले किसानलाई व्यावसायिक बन्न टेवा पुगेको उनको भनाइ छ।

जिल्ला समन्वय समिति भोजपुरका उप-प्रमुख अनिशा खड्काका अनुसार कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालन भएका कार्यक्रम किसानका लागि लाभदायक सावित भएका छन्। यस्ता कार्यक्रमले किसानको आयआर्जन तथा जीविकोपार्जनमा महत्वपूर्ण टेवा पुगेको उनले बताए।

कार्यालयले चालु आवमा सिँचाइ पूर्वाधार निर्माण तथा मर्मतसम्भार कार्यक्रममार्फत ५४ जना किसानलाई अनुदान सहयोग प्रदान गरेको छ। साथै सुधारिएको आधुनिक अलैँची भट्टी जडान तथा निर्माण कार्यक्रमअन्तर्गत ३० वटा आधुनिक भट्टी वितरण गरिएको छ।

सुन्तला बाली क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ११ वटा कृषि फर्मले अनुदान पाएका छन्। यसअन्तर्गत सिँचाइ पोखरी निर्माण, बिरुवा, पाइप वितरण तथा कृषि यान्त्रीकरणमा सहयोग गरिएको छ।

यसैगरी, सुन्तला नर्सरी सुदृढीकरण, अलैँची नर्सरी स्रोत केन्द्र स्थापना, नमूना सुन्तला बगैँचा विकास, अलैँची बालीको छहारी व्यवस्थापन, कृषि यान्त्रीकरण तथा खाद्यतत्व सहयोग, कृषिजन्य बालीलगायत रैथाने बालीको प्रशोधन, लेबलिङ तथा बजारीकरण सहयोग कार्यक्रम, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास तथा चक्लाबन्दीमा आधारित खेती कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन्। रैथाने बालीको कार्यक्रमअन्तर्गत रामप्रसादराई-६ मा कोदोको बिस्कुट उत्पादन भइरहेको कार्यालयले जनाएको छ।

चक्लाबन्दीमा आधारित खेती कार्यक्रममार्फत यो आर्थिक वर्षमा १०२ रोपनीमा अलैँचीको क्षेत्र विस्तार गरिएको कार्यालयले जनाएको छ। यो क्षेत्रमा ५५ हजार अलैँचीको बिरुवा रोपन गरिएको छ।

यी सबै कार्यक्रमको समग्र प्रभावले जिल्लामा कृषि उत्पादन वृद्धि हुनुका साथै किसानहरूलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न महत्वपूर्ण योगदान पुगेको देखिन्छ। रासस


प्रकाशित : मंगलबार, असार २३ २०८३११:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend