सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

सोमबार, असार २२ २०८३
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्सपोका प्रमुख विशेषताबारे जानकारी दिँदै नाइमा अटो शो प्लानिङ कमिटीका संयोजक गौरव शारडाले गत वर्षको प्रिमियम अनुभवलाई अझ परिस्कृत गर्दै सन् २०२६ को संस्करणलाई थप व्यवस्थित, सहज, समावेशी र आगन्तुकमैत्री बनाइने बताए।

काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सम्बन्धी मुख्य विवरण सार्वजनिक गरेको छ। 

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ यही ११ देखि १६ अगस्ट २०२६ अर्थात् २०८३ साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ।

नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी एक्स्पोका रूपमा आयोजना हुने यस प्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने छन्। एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादनहरू समेटिने छन्।

नाइमा नेपाल मोबिलिटी एक्स्पोका प्रमुख विशेषताबारे जानकारी दिँदै नाइमा अटो शो प्लानिङ कमिटीका संयोजक गौरव शारडाले गत वर्षको प्रिमियम अनुभवलाई अझ परिस्कृत गर्दै सन् २०२६ को संस्करणलाई थप व्यवस्थित, सहज, समावेशी र आगन्तुकमैत्री बनाइने बताए। उनले यस वर्षको एक्स्पोलाई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको एक महत्वपूर्ण र ऐतिहासिक कार्यक्रम बनाउन नाइमाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

समिति संयोजक शारडाले मनसुनलाई ध्यानमा राख्दै एक्स्पोमा विशेष व्यवस्था गरिएको बताए। उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि समेत सहज र उपयुक्त हुने गरी प्रदर्शनीस्थलको व्यवस्थापन गरिने जानकारी दिए। आगन्तुकहरूको सहजताका लागि नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध हुनेछ। 

पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले नाइमा एक वर्षअघि नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरू समेट्ने २१ सदस्य कम्पनीबाट सुरु भएको र हाल ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको जानकारी दिइन्। उनका अनुसार यो वृद्धि उद्योग क्षेत्रले नाइमाप्रति देखाएको विश्वास, एकीकृत प्लेटफर्मको आवश्यकता र नेपालको मोबिलिटी क्षेत्रको जिम्मेवार आवाजका रूपमा नाइमाको बढ्दो भूमिकाको स्पष्ट प्रतिबिम्ब हो।

naima press meet.jpg

उनले गत वर्ष नाइमाले मोबिलिटी क्षेत्रको सुधारका लागि निरन्तर वकालत, पहिलो संस्करणको एक्स्पो सफलतापूर्वक सम्पन्न, काठमाडौं उपत्यकाका १ हजार ६१० ट्राफिक प्रहरी कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सहयोग, हालैका प्रदर्शनका क्रममा गम्भीर क्षति पुगेका कार्यालयहरूको पुनर्निर्माणका लागि आकस्मिक सहयोग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा यातायात व्यवस्था विभागलाई सहयोग लगायतका महत्वपूर्ण कार्य गरेको जानकारी दिइन्। 

पत्रकार सम्मेलनमा सदस्य तथा उद्योग सरोकारवालाहरूबाट आएको उच्च मागलाई ध्यानमा राख्दै नाइमाले कमर्सियल मोबिलिटी ब्रान्ड र सम्बन्धित सरोकारवालाहरूलाई लक्षित गरी थप मोबिलिटी एक्स्पो आयोजना गर्ने विषयमा पनि विचार गरिरहेको जानकारी दिइयो। स्थान अभावका कारण केही इच्छुक सदस्य तथा सरोकारवालाहरूलाई स्टल उपलब्ध गराउन नसकिएकोमा अध्यक्ष वैद्यले दुस्ख व्यक्त गर्दै नेपालमा अझ ठूलो र आधुनिक प्रदर्शनी पूर्वाधार आवश्यक रहेको बताइन्।

कार्यक्रममा नाइमाका बोर्ड सदस्य सन्दीप शारडाले पनि आफ्नो धारणा राख्दै निजी क्षेत्र राष्ट्रको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको बताए। उनले यस्ता प्रदर्शनीहरूले व्यवसायिक गतिविधि विस्तार, लगानीको वातावरण निर्माण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिशीलता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे।

यस वर्षको एक्स्पोको अर्को प्रमुख आकर्षण नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अडिटोरियम हलमा लर्निङ सेसनहरु आयोजना हुनेछन्। यी सेसनहरुमा सहभागी हुन कुनै शुल्क तिर्नुपर्दैन। यी सत्रहरू विज्ञ, पेशाकर्मी, शिक्षाविद्, उद्योग नेतृत्व तथा प्रभावशाली व्यक्तित्वहरूको नेतृत्वमा सञ्चालन हुनेछन्। सत्रहरूमा मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप, रोजगारी र नेपालको मोबिलिटी क्षेत्रको भविष्यजस्ता विषय समेटिनेछन्।

नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई ग्लोबल आईएमई बैंकले को-स्पोन्सरका रूपमा र रेड बुलले पावर्ड बाई स्पोन्सरका रुपमा बेभरेज पार्टनरका  रूपमा सहयोग गरेका छन्। यसैगरी एक्स्पोमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनर, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड इन्स्योरेन्स पार्टनर, बोस नेपाल प्रविधि पार्टनर, ग्लोबल कलेज अफ म्यानेजमेन्ट एजुकेसन पार्टनर, एजाइल इन्जिनियरिङ सोलुसन्स प्रालि र अग्नि इनर्जी प्रालि चार्जिङ पार्टनर, एक्वा मिनरल्स प्रालि हाइड्रेसन पार्टनर रहेका छन्।

आईएमई खल्ती लिमिटेड टिकटिङ पार्टनर, द सोल्टी काठमाडौं हस्पिटालिटी पार्टनर, नर्भिक इन्टरनेसनल अस्पताल हेल्थ पार्टनर, वत्सल इम्पेक्स प्रालि सर्भिलेन्स पार्टनर, हिट्को प्राइभेट लिमिटेड अग्नि तथा सुरक्षा पार्टनर, वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड कनेक्टिभिटी पार्टनर, पायोनियर इभेन्ट म्यानेजमेन्ट अडियो-भिजुअल पार्टनर, युनियन पे क्यूआर पार्टनर, डिजिपल सोलुसन्स डिजिटल पार्टनर, एटीएस नेपाल सवारी सुरक्षा तथा पार्किङ समाधान पार्टनर, प्रफिट मिडिया प्रकाशन पार्टनर तथा मिडिया स्पेस सोलुसन्स इभेन्ट म्यानेजमेन्ट पार्टनरका रूपमा आबद्ध छन्।


प्रकाशित : सोमबार, असार २२ २०८३१९:१८
  • सम्बन्धित विषय:

  • # naima
  • # naimanepal


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend