काठमाडौं- सन् २०२२ को जुलाई ९ का दिन श्रीलंकाको राष्ट्रपति कार्यालय परिसरभित्र आन्दोलनकारीहरू प्रवेश गरेर जसरी महिनौँ लामो आन्दोलनलाई टुंग्याए त्यो दृष्य संसारलाई अहिले पनि याद छ। विभिन्न माग लिएर चलेको घरेलु शान्तिपूर्ण प्रदर्शनको त्यो उग्ररुपले गर्दा राष्ट्रपतिले देश नै छाड्नुपरेको थियो।
त्यो राजनीतिक रूपमा सत्तापलटमात्र थिएन, आर्थिक रूपमा खोक्रो भइसकेको भनिएको श्रीलंकाको कथा पनि संसारभर विस्तार भयो।
कुनै समयको स्टार अर्थतन्त्र, दक्षिण एसियाकै समृद्ध अर्थतन्त्रको ताज पहरिएको श्रीलंकासँग देखाउनका लागि समृद्धिका कथामात्र थिए, त्यो समृद्ध कथाका निर्विकल्प नायक जस्ता थिए राजापक्ष परिवारका नेताहरू। कोभिड महामारी र त्यो संकटसँगै लिइएका कतिपय नीतिका कारण अर्थतन्त्रमा संकट आइरहेको थियो।
विदेशी मुद्राको चरम संकट, आकासिँदो मूल्यवृद्धिमात्र होइन राष्ट्रिय शाख नै खस्किनेगरी डिफल्ट हुने अवस्थामा मुलुक पुगेको थियो। आर्थिक संकटकै बीचमा आन्दोलन भयो र त्यसबाट सत्ता फालियो। चुनावी सरकार बन्यो। चुनावबाट नयाँ सरकार आयो।
श्रीलंकाको आन्दोलनको दृष्य र कथालाई नै छायामा पार्नेगरी आर्थिक कंगालीको कथा बढी बिक्री भयो। त्यसको छाप सबैभन्दा धेरै नेपालमै पनि बिक्री भयो। विदेशी ऋण नै भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको श्रीलंकको आर्थिक वृद्धिदर ७.३ प्रतिशतले ऋणात्मक र मुद्रास्फ्रिति ३५ प्रतिशतभन्दा माथि पुगेको थियो सन् २०२२ मा।
त्यही कारणले गर्दा कुनै समयको समृद्ध दक्षिण एसियाली अर्थतन्त्र एकाएक खराब चित्रणको उदाहरण बन्न पुग्यो। सन् २०१९ मा पहिलोपटक उच्चमध्य आय वर्गमा प्रवेश गरेको श्रीलंका फेरि न्यूनम मध्यम आयमा झर्यो।
विश्व बैंकले प्रतिव्यक्ति आम्दानीको आधारमा मुलुकको वर्गीकरण गर्दै आएको छ। यसमा न्यून आय समूहमा पछिल्लो वर्गीकरणमा १ हजार १ सय ७५ डलरभन्दा न्यून आय, १ हजार १ सय ७६ देखि ४ हजार ६ सय ३५ डलरसम्म न्यूनमध्यम आय, ४ हजार ६ सय ३६ देखि १४ हजार ३ सय ७५ सम्म उच्च मध्यम आय र १४ हजार ३ सय ७५ देखि माथि उच्च आय समूहको वर्गीकरण हुन्छन्।
विश्व बैंकको यो समूहमा दक्षिण एसियाबाट श्रीलंकामात्र उच्च मध्यम आयमा प्रवेश गरेको थियो। तर आर्थिक धक्काले गर्दा श्रीलंकाको आय ३ हजार ८ सय डलरमा सीमित भयो र फेरि न्यून मध्यम आय समूहमै झरेको थियो।
हालैमात्र विश्व बैंकको तथ्यांकअनुसार श्रीलंका उच्च मध्यम आयको समूहमा प्रवेश गरिसकेको छ। दक्षिण एसियाका अरु सबै मुलुक न्यून मध्यम आयमै रहेका छन्।
चार वर्षमै श्रीलंकाले उल्लेख्य सुधार गरेको छ। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सहायतामा सञ्चालन भएका आयोजना तथा सुधारले प्रतिफल दिन थालेको धेरैले विश्वास गरेका छन्।
यो बीचमा श्रीलंकालाई अन्तर्राष्ट्रिय मुद्रा कोषले सुधारको सर्तसहित २.९ अर्ब डलर सहायता दिएको थियो। यसमा कर बढाउने अनुदान घटाउने, सरकारी घाटा नियन्त्रण तथा ऋणको पुनर्संरचन लगायतका कठिन सर्त थिए।
यी सुधार तथा सहायताले गर्दा उद्योग, पर्यटन र वित्तीय सेवाले राम्रो प्रतिफल दिन थालेका छन्। फेरि विदेशीहरु श्रीलंका घुम्न जान थालेका छन्। सबैभन्दा ठूलो विदेशी मुद्रा आम्दानी स्रोत पर्यटन रहेको श्रीलंकामा फेरि विदेशी भरिन थालेका हुन्।
सन् २०२५ मा ५ प्रतिशतले आर्थिक वृद्धि भएको थियो। चार वर्षमै श्रीलंकाले गरेको सुधारलाई विदेशीहरूले उल्लेखनीय भनेका छन्।