काठमाडौं- एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्दाले आज नेपाल आउने भएका छन्। नेपालको सबैभन्दा ठूलो दातृ निकाय एडीबीका अध्यक्षको भ्रमण नेपालमा डेढ दशकपछि हुने भएको हो। सामाजिकदेखि भौतिक पूर्वाधारमा ऋण तथा अनुवादन दिंदै आएको एडीबीको उच्चस्तरीय भ्रमण हुन लागेको हो।
आज आएर सोमबार र मंगल नेपालमा उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम कान्दाको रहेको छ। नेपाल भ्रमणको क्रममा कान्दाले प्रधानमन्त्री बालेन्द्र शासँग भेट गर्ने तय भएको छ। कुनै पनि विदेशी व्यक्तिलाई एक्लै नभेटेका शाहले पहिलोपटक कान्दालाई भेट्ने भएका हुन्।
प्रधानमन्त्रीसँगको भेटमा कान्दासँगै एडीबीको नेपालस्थित टिम तथा उनीसँग आएको प्रतिनिधिमण्डल हुनेछ। मंगलबार प्रधानमन्त्रीसँग भेट गर्ने कार्यतालिका तय भएको छ। यसअघि शाहले विदेशीसँग एक्लै भेट गरेका थिएनन्।
शाहले नेपालसमेत सदस्य रहेको बहुपक्षीय वित्तीय संस्थाको नेतृत्वसँग भेट गरेर विदेशीसँग पनि एक्लै भेट गर्ने अभ्यास सुरू गर्न लागेका छन्।
अर्थ मन्त्रालय निकट स्रोतका अनुसार सोमबार कान्दाले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेट गर्नेछन्। त्यस्तै उनले एडीबीको लगानी रहेको विद्युत प्राधिकरणको भार सम्प्रेषण केन्द्रको अवलोकन पनि गर्नेछन्।
त्यस्तै उनको भ्रमणका क्रममा दुवटा सम्झौता हुने भएका छन्। भन्सारको आधुनिकीकरण परियोजनाका लागि एडीबीले दिने ५ करोड डलरको ऋण लगानी सम्झौता र एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्रीय) आयोजना सम्बन्धी ११ करोड ५० लाख अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर हुनेछ।
यस बाहेक अन्य नीतिगत विषयमा छलफल हुनेछ। राजनीतिक नेतृत्वसँग एडीबी अध्यक्ष कान्दाले बैंकको लगानी नीति तथा नेपाल जस्ता सदस्य मुलुकका सन्दर्भमा पछिल्ला प्राथमिकता विषयमा धारणा राख्नेछन्।