बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार १८ २०८३
नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर

एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा आधारित ट्रयाकिङ तथा मूल्याङ्कन प्रणालीको माध्यमबाट पदयात्रा तथा पर्वतीय पर्यटनलाई पूर्वानुमान योग्य, जोखिम मुक्त र थप सुरक्षित बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो।

काठमाडौं- ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) र दक्षिण कोरियाको प्रविधिसम्बन्धी कम्पनी आइबिएल कम्पनी लिमिटेडका बीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा आधारित ट्रयाकिङ तथा मूल्याङ्कन प्रणालीको माध्यमबाट पदयात्रा तथा पर्वतीय पर्यटनलाई पूर्वानुमान योग्य, जोखिम मुक्त र थप सुरक्षित बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा सङ्घका तर्फबाट महासचिव सोनाम ग्याल्जेन शेर्पा र कोरियाली प्रतिनिधिमण्डलका तर्फबाट आईबीएलका प्रमुख कार्यकारी अधिकृत सुडो किमले हस्ताक्षर गरेका थिए। 

समझदारीपत्र बमोजिम टानले आइबिजेड तथा सम्बद्ध कोरियन संस्थाहरुसँगको सहकार्यमा स्मार्ट सफ्टवेयर प्रविधिको प्रयोगका माध्यमबाट पदयात्रामा जाने पदयात्री, पथपर्दशक तथा सहयोगी श्रमिकहरुको जोखिम पूर्वानुमान, ‘रिएल टाइम लोकेशन’ पहिचान तथा उद्धार कार्यलाई सहज बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, गन्तव्य क्षेत्रका स्थानीय सरकारलगायतका सरकारी निकायहरु, निजी क्षेत्र, अनुसन्धान निकायहरु र व्यवसायीहरुसँग समन्वय गरी कुनै एउटा पदयात्रा मार्गमा परीक्षणका रुपमा ट्रयाकिङ प्रविधि जडान गरिने उल्लेख छ। 

त्यसको परीक्षणका आधारमा सरकारका सम्बन्धित निकायहरुबाट आवश्यक अनुमति लिई संघका सदस्य कम्पनीहरुलाई आवश्यक अभिमुखीकरण तथा तालिम प्रदान गरी बृहत्तर रुपमा उक्त प्रणालीको प्रयोग गरिने सो अवसरमा टानका महासचिव शेर्पाले बताए। 

कार्यक्रमको संयोजन गरेका सङ्घका सह-कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले प्रविधिको स्थापना गर्न, प्राविधिक तालिम उपलब्ध गराउन तथा एआईसमेतको प्रयोग गरी पर्यटकको ‘रियल टाइम डाटावेश’ तयार गर्ने, जोखिमका बारेमा पूर्वसूचना दिनेलगायतका प्राविधिक पक्षमा कम्पनीले सहयोग गर्ने जानकारी दिए।

 टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंले सम्बन्धित सरकारी निकायहरु, गन्तब्य क्षेत्रका सरोकारवाला निकायहरु, टानका सदस्य कम्पनीहरु तथा प्रविधि बिज्ञहरुसँग समन्वय गरी पदयात्रा तथा पर्वतीय पर्यटनलाई सुरक्षित, प्रभावकारी र विश्वसनीय बनाउन सकिने सम्भावना रहेको उल्लेख गरे।   

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा आईबीएलका कम्पनी लिमिटेड उपाध्यक्ष डा. जेम्स पार्क, क्यूङसङ विश्वविद्यालयका इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागका अध्यक्ष प्राध्यापक डा. पार्क जङ सिक, कोरिया डिजास्टर एण्ड सेफ्टी इन्डस्ट्रीयल टेक्नोलोजी रिसर्च एशोसिएशनका बोर्ड अध्यक्ष नोह ही जङ, कोरिया एशोसिएशन इन नेपालका अध्यक्ष चा सेङवोनलगायतका सदस्यहरुको समेत उपस्थिति रहेको थियो।रासस


प्रकाशित : बिहीबार , असार १८ २०८३१०:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend