काठमाडौं- नेपालको पहिलो व्यावसायिक सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न भएको छ।
निर्माण सुरु भएको ७९ महिनापछि ठेकेदार जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। आउँदो साउन महिनाभित्रै सर्वसाधारणका लागि सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ।
नागढुंगा-सिस्नेखोला सुरुङमार्गअन्तर्गत मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ८८ मिटर रहेको छ भने आपत्कालीन सुरुङ २ हजार ५ सय ५७ मिटर लामो छ।
यो परियोजनामा जापान सरकारले करिब २१ अर्ब ५० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ भने नेपाल सरकारले करिब ६ अर्ब रुपैयाँ लगानी गरेको छ। कुल लगानी करिब २७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार सुरुङ सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी तीव्र गतिमा भइरहेको छ। सबै प्रक्रिया समयमै पूरा भए आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग सञ्चालनमा ल्याइने लक्ष्य रहेको उनले बताए।
उनका अनुसार हाल सुरुङ सञ्चालन, टोल व्यवस्थापन, उद्धार सेवा, ट्राफिक सञ्चालन तथा प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली परीक्षण भइरहेको छ। सुरुङभित्र आपत्कालीन उद्धार, भेन्टिलेसन, प्रकाश व्यवस्था, सञ्चार प्रणाली तथा सुरक्षा संयन्त्रको परीक्षण र कर्मचारीलाई व्यावहारिक तालिम दिने काम भइरहेको छ।
सुरुङ सञ्चालनको जिम्मा युसिन–एआरटी जेभीले पाएको छ। यसमा चिनियाँ कम्पनी युसिन र नेपाली कम्पनी एआरटी सहभागी छन्। सेवा प्रदायक कम्पनीले पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापन गर्नेछ। सो अवधिमा सुरुङको मर्मतसम्भार, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, टोल संकलन, सुरुङ तथा दुवैतर्फ जोडिने २.८ किलोमिटर पहुँच सडकको नियमित रेखदेख गर्नुपर्नेछ।
सुरुङ चौबीसै घण्टा सञ्चालन हुने भएकाले करिब १५० जना कर्मचारी नियुक्त गरिएको छ। उनीहरूलाई विभिन्न सिफ्टमा परिचालन गरिनेछ। सञ्चालनअघि सबै कर्मचारीलाई सुरुङभित्रको सुरक्षा प्रणाली, उद्धार प्रक्रिया तथा उपकरण सञ्चालनसम्बन्धी तालिम दिइँदै छ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण २०७६ कात्तिक ४ गते सुरु भएको थियो। प्रारम्भिक सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि कोभिड–१९ महामारी, स्थानीय अवरोध तथा अन्य प्राविधिक कारणले निर्माणमा उल्लेख्य ढिलाइ भएको हो। निर्माण कम्पनीले गत जेठ महिनामै आयोजना हस्तान्तरण गरिसकेको छ।
सम्झौताअनुसार हस्तान्तरणपछि एक वर्षसम्म सुरुङमा कुनै प्राविधिक समस्या देखिए निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले आफ्नै खर्चमा मर्मतसम्भार गर्नुपर्ने व्यवस्था छ।
काठमाडौं र धादिङ दुवैतर्फ निर्माण गरिएका टोल प्लाजा पनि तयार भइसकेका छन्। हाल त्यहाँ सफ्टवेयर जडान, उपकरण परीक्षण तथा डिजिटल भुक्तानी प्रणालीको अन्तिम तयारी भइरहेको छ। धादिङतर्फको पहिरो व्यवस्थापन कार्यसमेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।
पूर्णरूपमा डिजिटल टोल प्रणाली
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि पूर्ण रूपमा डिजिटल टोल भुक्तानी प्रणाली लागू गरिने भएको छ। यसका लागि एन–ट्याग र आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधि प्रयोग गरिनेछ।
सवारी चालकले सम्बन्धित बैंकबाट एन–ट्याग लिएपछि बैंक खाताबाट रकम स्वतः कार्डमा लोड हुनेछ। सुरुङ प्रवेशद्वारमा कार्ड स्क्यान गरेपछि तोकिएको शुल्क स्वतः कटेर गेट खुल्ने व्यवस्था हुनेछ। प्रारम्भिक रूपमा अधिकतम दुई हजार रुपैयाँसम्म डिपोजिट गर्न सकिने व्यवस्था गरिएको छ। यसका लागि ‘क’ वर्गका १३ वाणिज्य बैंकसँग सहकार्यको प्रक्रिया पूरा भइसकेको छ भने थप बैंकहरू पनि प्रणालीमा जोडिने सम्भावना रहेको छ।
एन–ट्यागबाहेक सवारीको अगाडिको सिसामा टाँसिने आरएफआईडी स्टिकरमार्फत पनि शुल्क तिर्न सकिनेछ। एक वा दुई पटक मात्रै सुरुङ प्रयोग गर्ने सवारीका लागि भने क्यूआर कोड र फोन–पेबाट पनि भुक्तानी गर्न सकिने व्यवस्था गरिनेछ।
सेवा प्रदायक कम्पनीले दैनिक उठेको सम्पूर्ण टोल रकम सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ।
यस्तो छ टोल शुल्क
सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि टोल शुल्कसमेत निर्धारण गरिसकेको छ। कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक तथा टिपरका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ।
ठूला बस तथा ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। हेभी ट्रक तथा लरीले उपत्यका प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। आयोजनाको अनुमानअनुसार सुरुङ सञ्चालनपछि दैनिक हजारौँ सवारीसाधनले यसको प्रयोग गर्नेछन्।
यी सवारीलाई प्रवेश निषेध
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ अनुसार पैदलयात्री, साइकल, दुईपांग्रे, तीनपांग्रे तथा अन्य गैर-मोटरयुक्त सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।
त्यस्तै डिजेल, पेट्रोल, ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ तथा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई पनि सुरुङमार्ग प्रवेशमा रोक लगाइएको छ। यस्ता सवारीले पुरानै नागढुंगा–सिस्नेखोला सडक प्रयोग गर्नुपर्नेछ।