बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

७७ वटै जिल्लामा ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ सुरु गर्दै राष्ट्र बैंक

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १७ २०८३
७७ वटै जिल्लामा ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ सुरु गर्दै राष्ट्र बैंक

बैंकका अनुसार सर्वेक्षणका लागि सबै प्रकारका स्थानीय तहहरूलाई समेटेर आकस्मिक छनोट विधिबाट वडाहरूको चयन गरिनेछ र यस प्रक्रियामार्फत देशभरबाट जम्मा १० हजार ४ सय ५ वटा नमुना संकलन गर्ने लक्ष्य राखिएको छ।

काठमाडौं-  नेपाल राष्ट्र बैंकले देशका सबै जिल्ला समेट्ने गरी ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ सुरु गर्ने भएको छ।

राष्ट्र बैंकले सूचना जारी गर्दै वित्तीय ग्राहकहरूको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ देशभरिका ७७ वटै जिल्लामा यो सर्वेक्षण सञ्चालन गर्न लागिएको जनाएको हो।

बैंकका अनुसार सर्वेक्षणका लागि सबै प्रकारका स्थानीय तहहरूलाई समेटेर आकस्मिक छनोट विधिबाट वडाहरूको चयन गरिनेछ र यस प्रक्रियामार्फत देशभरबाट जम्मा १० हजार ४ सय ५ वटा नमुना संकलन गर्ने लक्ष्य राखिएको छ।

सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, सेवाको गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवासम्बन्धी ग्राहकहरूको धारणा र अनुभव संकलन गरिनेछ। सर्वेक्षणबाट प्राप्त हुने नतिजाले आगामी दिनमा वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाको गुणस्तर अभिवृद्धिसम्बन्धी नीति, कार्यक्रम र नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुऱ्याउने छ। 

सर्वेक्षणमा संकलन गरिएका व्यक्तिगत विवरण तथा जानकारीहरू तथ्याङ्क ऐन, २०७९ अनुसार पूर्ण रूपमा गोप्य रहनेछन् र तिनलाई केवल सामूहिक रूपमा तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिनेछ। यस सर्वेक्षणमा वित्तीय ग्राहकहरूको सहभागिता पूर्ण रूपमा स्वेच्छिक हुनेछ र यदि कुनै सहभागीलाई कुनै प्रश्नको उत्तर दिन असहज लागेमा, त्यस्ता प्रश्नहरूको उत्तर दिन अस्वीकार गर्ने छुट समेत दिइएको छ।  

नेपाल राष्ट्र बैंकले यो सर्वेक्षणलाई प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउनका लागि सम्बन्धित सबै वित्तीय ग्राहक, बैंक तथा वित्तीय संस्था, सरोकारवाला निकाय र आम सर्वसाधारणलाई यथार्थ तथा निष्पक्ष जानकारी उपलब्ध गराई सहयोग गरिदिन अनुरोध गरेको छ। 


प्रकाशित : बुधबार, असार १७ २०८३१७:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend