बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाडा समायोजन

बुधबार, असार १७ २०८३
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाडा समायोजन

निगमले बुधबार रातिदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य घटाएपछि एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाल (एओएएन)ले नयाँ इन्धन शुल्क निर्धारण गरेको हो। संशोधित इन्धन शुल्क बिहीबारदेखि लागु भएको छ।

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएसँगै आन्तरिक वायुसेवा कम्पनीहरूले यात्रुसँग लिने इन्धन शुल्क (फ्युल सरचार्ज) पनि घटाएका छन्।

निगमले बुधबार रातिदेखि लागु हुनेगरी हवाई इन्धनको मूल्य घटाएपछि एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाल (एओएएन)ले नयाँ इन्धन शुल्क निर्धारण गरेको हो। संशोधित इन्धन शुल्क बिहीबारदेखि लागु भएको छ।

हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानका यात्रुले तिर्नुपर्ने भाडामा समावेश हुने इन्धन शुल्क पनि घटेको छ। संशोधित शुल्कमा भने १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) समावेश गरिएको छैन।

एओएएनका अनुसार सबैभन्दा बढी काठमाडौं-धनगढी उडानको इन्धन शुल्क १ हजार ५६५ रुपैयाँ घटाएर ८ हजार ९५५ रुपैयाँ कायम गरिएको छ। त्यसपछि काठमाडौं-सुर्खेत उडानमा १ हजार २२० रुपैयाँ घटाएर ७ हजार ५ रुपैयाँ, काठमाडौं-माउन्टेन (एभरेष्ट अनुभव उडान) मा १ हजार २१५ रुपैयाँ घटाएर ६ हजार ९५५ रुपैयाँ, काठमाडौं-नेपालगञ्जमा १ हजार १५५ रुपैयाँ घटाएर ६ हजार ६०५ रुपैयाँ तथा काठमाडौं-भद्रपुरमा १ हजार ६५ रुपैयाँ घटाएर ६ हजार ८५ रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी काठमाडौं-विराटनगर उडानमा ८५० रुपैयाँ घटाएर ४ हजार ८६५ रुपैयाँ, पोखरा-नेपालगञ्जमा ८४० रुपैयाँ घटाएर ४ हजार ८०५ रुपैयाँ, काठमाडौं-भैरहवामा ७३० रुपैयाँ घटाएर ४ हजार १७० रुपैयाँ, काठमाडौं-राजविराजमा ७२५ रुपैयाँ घटाएर ४ हजार १४५ रुपैयाँ, काठमाडौं-तुम्लिङटारमा ६५० रुपैयाँ घटाएर ३ हजार ७४० रुपैयाँ तथा काठमाडौं-पोखरामा ५६० रुपैयाँ घटाएर ३ हजार २१५ रुपैयाँ कायम गरिएको छ।

यस्तै काठमाडौं-जनकपुर र पोखरा-भैरहवा उडानमा समान ४५५ रुपैयाँ इन्धन शुल्क घटाइएको छ। पोखरा-भरतपुरमा ३९५ रुपैयाँ घटाएर २ हजार २५० रुपैयाँ, काठमाडौं-भरतपुरमा ३८० रुपैयाँ घटाएर २ हजार १७० रुपैयाँ तथा काठमाडौं-सिमरामा ३२० रुपैयाँ घटाएर १ हजार ८२५ रुपैयाँ कायम गरिएको छ।

अमेरिकी डलरमा निर्धारण गरिएको इन्धन शुल्क पनि सोही अनुपातमा घटाइएको छ। सबैभन्दा बढी काठमाडौं-धनगढी उडानमा १५ डलर शुल्क घटाइएको छ।

काठमाडौं-माउन्टेन, काठमाडौं-सुर्खेत र काठमाडौं-नेपालगञ्ज उडानमा १२-१२ डलर, काठमाडौं-भद्रपुरमा ११ डलर, काठमाडौं-विराटनगर, काठमाडौं-राजविराज र पोखरा-नेपालगञ्जमा ८-८ डलर, काठमाडौं-भैरहवा र काठमाडौं-तुम्लिङटारमा ७-७ डलर, काठमाडौं-पोखरामा ६ डलर, काठमाडौं-जनकपुर र पोखरा-भैरहवामा ५-५ डलर, काठमाडौं-भरतपुरमा ४ डलर तथा काठमाडौं-सिमरा र पोखरा-भरतपुरमा ३-३ डलर इन्धन शुल्क घटाइएको छ।


प्रकाशित : बुधबार, असार १७ २०८३१५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend