हुम्ला- स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ। हुम्लाको सिमकोट गाउँपालिका-८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा स्याँडा याङ्गु सडक निर्माणमा १ करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि गाउँमै गाडी पुगेको हो। यसअघि सिमकोटका सातवटै वडामा यातायातका साधन पुगिसकेका छन्।
दुर्गम गाउँमा पहिलोपटक यातायात सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन्। गाउँसम्म गाडी पुगेका दिन स्थानीयले फूलमाला, बाजागाजा र स्वागत कार्यक्रमको आयोजना गरेका थिए।
स्याँडा सडक सञ्चालनमा आएपछि खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक वस्तुहरू ढुवानी गर्न सहज भएको वडाध्यक्ष कमल बुढाले बताए।
गाउँमा गाडी पुगेपछि स्थानीयमा नयाँ आशा जागेको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा व्यापार–व्यवसायका क्षेत्रमा थप सम्भावना सृजना हुने विश्वास गरिएको छ। रासस