बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा ५९ प्रतिशत नाघ्यो, ‘सी प्लस’ रेटिङ कायम

बुधबार, असार १७ २०८३
नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा ५९ प्रतिशत नाघ्यो, ‘सी प्लस’ रेटिङ कायम

इक्रा नेपालले बैंकको वित्तीय अवस्था अझै पनि कमजोर रहेको, सञ्चित घाटा उच्च रहेको, व्यवसायको आकार सानो भएकाले सञ्चालन घाटा निरन्तर रहेको तथा खराब कर्जा तीव्र रूपमा बढिरहेकाले रेटिङमा सुधार नगरी पुरानै स्तर कायम राखिएको जनाएको हो।

काठमाडौं- अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको जारीकर्ता (इश्यूअर) रेटिङ ‘आईसीआरएएनपी-आईआर सी प्लस’मा यथावत् राखेको छ। उक्त रेटिङले बैंकले आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्न नसक्ने जोखिम अत्यधिक उच्च रहेको संकेत गर्ने एजेन्सीले जनाएको छ।

इक्रा नेपालले बैंकको वित्तीय अवस्था अझै पनि कमजोर रहेको, सञ्चित घाटा उच्च रहेको, व्यवसायको आकार सानो भएकाले सञ्चालन घाटा निरन्तर रहेको तथा खराब कर्जा तीव्र रूपमा बढिरहेकाले रेटिङमा सुधार नगरी पुरानै स्तर कायम राखिएको जनाएको हो।

प्रतिवेदनअनुसार बैंकको कुल निष्क्रिय कर्जा (ग्रस एनपीएल) गत वर्षको मध्य माघसम्मको ४३.५१ प्रतिशतबाट बढेर २०८२ वैशाख मध्यसम्म ५९.३६ प्रतिशत पुगेको छ। विकास बैंकहरूको औसत खराब कर्जा भने ६.१३ प्रतिशत मात्र रहेको छ। त्यसैगरी खुद निष्क्रिय कर्जा (नेट एनपीएल) पनि १३.६७ प्रतिशतबाट बढेर १८.४३ प्रतिशत पुगेको छ।

बैंकको कुल कर्जामध्ये शीर्ष २० ऋणी वा ऋणी समूहको हिस्सा करिब ५० प्रतिशत पुगेको छ, जुन गत वर्ष करिब ३५ प्रतिशत थियो। सीमित ऋणीमा उच्च कर्जा केन्द्रित हुँदा सम्पत्ति गुणस्तरमा थप जोखिम बढेको आईसीआरए नेपालको विश्लेषण छ।

खराब कर्जा बढ्दै गएपछि त्यसबापत ठूलो परिमाणमा कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) गर्नुपरेकाले बैंकको नाफाक्षमता थप कमजोर बनेको प्रतिवेदनमा उल्लेख छ। बैंक समस्याग्रस्त संस्थाको सूचीबाट २०२० अगस्ट मा हटेपछि पनि अहिलेसम्म सञ्चालन नाफा कमाउन सफल हुन सकेको छैन। कमजोर खुद सम्पत्तिका कारण बैंकको सोल्भेन्सी अनुपात अझै १४.०८ प्रतिशत रहेको छ। हकप्रद सेयर निष्कासनअघि यो ६३.२७ प्रतिशत पुगेको थियो।

यद्यपि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा शतप्रतिशत हकप्रद सेयर निष्कासन सफल भएपछि बैंकको पुँजी आधारमा उल्लेखनीय सुधार आएको आईसीआरएले जनाएको छ।

हकप्रदपछि बैंकको चुक्ता पुँजी करिब ५२ करोड ५० लाख रुपैयाँ पुगेको छ, जसले क्षेत्रीय स्तरका ‘ख’ वर्ग विकास बैंकका लागि नेपाल राष्ट्र बैंक ले तोकेको ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजीको मापदण्ड पूरा गरेको छ।

यससँगै बैंकको जोखिम भारित सम्पत्तिको अनुपातमा पुँजी पर्याप्तता (सीआरएआर) गत वर्षको १.१९ प्रतिशतबाट बढेर ३७.११ प्रतिशत पुगेको छ। यो नियामकीय न्यूनतम ११ प्रतिशत भन्दा धेरै माथि हो। त्यसैगरी प्राथमिक (टायर-१) पुँजी अनुपात पनि ०.३२ प्रतिशतबाट बढेर २९.७९ प्रतिशत पुगेको छ।

इक्रा नेपालले यसअघि आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पनि हकप्रद सेयरमार्फत पुँजी बढाइएको भए पनि कमजोर नाफा र खराब कर्जाका कारण त्यसको प्रभाव दीर्घकालीन रूपमा टिक्न नसकेको उल्लेख गरेको छ। अहिलेको पुँजी सुधार पनि खराब कर्जा नियन्त्रण गर्न र आन्तरिक नाफा बढाउन सकेमा मात्रै दिगो हुने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा बैंकको निक्षेप संरचनालाई पनि कमजोर औँल्याइएको छ। चालु तथा बचत निक्षेप (कासा) को हिस्सा कुल निक्षेपको करिब २२ प्रतिशत मात्र रहेको छ, जबकि विकास बैंकहरूको औसत करिब ५६ प्रतिशत रहेको छ। यसका कारण बैंकको निक्षेप लागत उद्योगको औसतभन्दा उच्च रहेको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बैंकको औसत निक्षेप लागत ५.४० प्रतिशत रहँदा विकास बैंकहरूको औसत ४.०९ प्रतिशत रहेको छ।

त्यस्तै शीर्ष २० निक्षेपकर्ताको हिस्सा कुल निक्षेपको करिब ४४ प्रतिशत रहेकाले निक्षेपको स्थायित्वमा पनि जोखिम रहेको आईसीआरए नेपालले जनाएको छ।

बैंकको व्यवसाय विस्तार क्षमता पनि सीमित रहेको प्रतिवेदनमा उल्लेख छ। बैंकसँग हाल चितवन जिल्लामा पाँच वटा शाखा मात्र सञ्चालनमा छन्। कमजोर ब्रान्ड छवि, सीमित शाखा सञ्जाल, बैंकिङ क्षेत्रमा तीव्र प्रतिस्पर्धा तथा पछिल्ला वर्षदेखिको आर्थिक सुस्तताले बैंकको दीर्घकालीन दिगोपनामा चुनौती थपिएको प्रतिवेदनमा उल्लेख छ।

वित्तीय विवरणअनुसार बैंकको कर्जा तथा सापटी लगानी निरन्तर घटिरहेको छ। आर्थिक वर्ष २०७९/८० मा ५४ करोड ८० लाख रुपैयाँ पुगेको कर्जा लगानी आर्थिक वर्ष २०८१/८२ को वैशाख मध्यसम्म घटेर २७ करोड २० लाख रुपैयाँ मा सीमित भएको छ। समीक्षा अवधिमा बैंकले करिब ५ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ भने खुद ब्याज आम्दानी पनि ऋणात्मक बनेको छ।


प्रकाशित : बुधबार, असार १७ २०८३११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend