काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले बुधबार राति १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य निर्धारण गरेको हो।
नयाँ निर्णयअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धन प्रतिलिटर ४० रुपैयाँ, अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौंका लागि) प्रतिकिलोलिटर २६५ अमेरिकी डलर तथा एलपी ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको निगमले जनाएको छ।
मूल्य समायोजनपछि पेट्रोलको खुद्रा बिक्री मूल्य पहिलो वर्गमा प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम भएको छ। त्यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ।
निगमका अनुसार आन्तरिक हवाई इन्धनको नयाँ मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तथा आधा सिलिन्डरको मूल्य १ हजार ३० रुपैयाँ तोकिएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा स्वचालित मूल्य समायोजन गरिएको जनाएको छ।