काठमाडौं- गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा चन्द्रागिरि केबलकारमा भएको तोडफोड र त्यसपछि करिब तीन महिना सेवा अवरुद्ध भएपछि ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’मा राखिएको चन्द्रागिरि हिल्स लिमिटेडको क्रेडिट रेटिङ आईसीआरए नेपालले हटाएको छ।
आन्दोलनपछि बन्द भएको केबलकार सेवा पुनः नियमित सञ्चालनमा आएसँगै कम्पनीको वित्तीय जोखिम घटेको निष्कर्ष निकाल्दै रेटिङ एजेन्सीले निगरानी सूचीबाट हटाउने निर्णय गरेको हो।
इक्रा नेपालले सार्वजनिक गरेको रेटिङ अद्यावधिकअनुसार कम्पनीको इस्युअर रेटिङ बीबी प्लस तथा दीर्घकालीन ऋण रेटिङ एलबीबी प्लस यथावत् कायम राखिएको छ। कम्पनीको करिब २ अर्ब ४ करोड रुपैयाँ बराबरको दीर्घकालीन ऋण सुविधाको रेटिङसमेत पुनः पुष्टि गरिएको छ।
रेटिङ एजेन्सीका अनुसार भदौको आन्दोलनमा भएको क्षतिका कारण केबलकार सेवा करिब तीन महिनासम्म बन्द हुँदा कम्पनीको आम्दानी, नाफा र नगद प्रवाहमा प्रत्यक्ष असर परेको थियो। यही कारण गत वर्ष कम्पनीको रेटिङलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन’मा राखिएको थियो।
हाल केबलकार सेवा पूर्ण रूपमा सञ्चालनमा फर्किएको, कम्पनीले बैंकसँग ऋण पुनर्तालिकी (रिस्केड्युलिङ) गरी ऋण भुक्तानीको तत्कालीन दबाब व्यवस्थापन गरेको तथा सञ्चालनबाट नगद प्रवाह क्रमशः सुधार हुन थालेपछि निगरानी हटाइएको आईसीआरए नेपालले जनाएको छ।
एजेन्सीका अनुसार कम्पनीको वित्तीय संरचना अझै सन्तोषजनक छ। साथै कम्पनीले प्रस्ताव गरेको शतप्रतिशत हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम ऋण घटाउन प्रयोग गर्ने योजना रहेकाले पूँजी संरचना थप सुदृढ हुने अपेक्षा गरिएको छ।
यद्यपि भदौको आन्दोलनले चालु आर्थिक वर्षको पहिलो नौ महिनाको वित्तीय नतिजामा असर पारेको आईसीआरएले उल्लेख गरेको छ। केबलकार सेवा बन्द हुँदा कम्पनीको राजस्व करिब २८ प्रतिशतले घटेको, सञ्चालन नाफाको मार्जिन खुम्चिएको तथा रिसोर्टको अकुपेन्सीसमेत घटेको जनाएको छ।