काठमाडौं- नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गर्न नसकेपछि पाँच वटा लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरेको छ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था, तिनका सञ्चालक समिति, पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूमाथि नियामकीय मापदण्ड उल्लंघन गरेको निष्कर्षसहित कारबाही गरेको हो।
राष्ट्र बैंकका अनुसार न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेका पाँच लघुवित्त संस्थालाई ‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४’ को विनियम ३ (क) बमोजिम सुधारात्मक कारबाहीमा राखिएको छ।
कारबाहीमा परेका संस्थामध्ये आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ले २०८२ असार मसान्तसम्म ७.७७ प्रतिशत मात्र न्यूनतम पुँजीकोष अनुपात कायम गरेको पाइएको छ।
यस्तै, गणपति लघुवित्त वित्तीय संस्था ले २०८२ असोज मसान्तमा ६.०६ प्रतिशत, सामुदायिक लघुवित्त वित्तीय संस्था ले २०८२ असार मसान्तमा ६.१२ प्रतिशत, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था ले ६.०१ प्रतिशत तथा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था ले ६.२० प्रतिशत मात्र पुँजीकोष अनुपात कायम गरेका कारण उनीहरूमाथि पनि शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले यस्तो कारबाहीमार्फत सम्बन्धित संस्थालाई पुँजीकोष सुदृढ बनाउन, जोखिम व्यवस्थापन सुधार गर्न तथा नियामकीय मापदण्ड पालना गर्न निर्देशन दिएको छ।