काठमाडौं- नेपालमा आगामी दुई दिन मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार (असार १६) र बुधबार (असार १७) देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना छ। ती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्ने, शहरी तथा तराईका होचा क्षेत्रमा डुबान हुन सक्ने तथा पहाडी भू–भागमा पहिरोको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
त्यस्तै, मेघगर्जन र चट्याङ्गका घटनाबाट जनधनको क्षति हुन सक्ने भएकाले सुरक्षित स्थानमा बस्न, अनावश्यक यात्रा नगर्न तथा यात्रा गर्नै परे विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।
महाशाखाले मौसमसम्बन्धी पछिल्लो जानकारी तथा अद्यावधिक पूर्वानुमान नियमित रूपमा अवलोकन गरी आवश्यक सतर्कता अपनाउन सर्वसाधारण, स्थानीय तह तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।