काठमाडौं- तारकेश्वर नगरपालिका-३ जितपुरफेदीका खेत सजिएका छन्। झरी र हिलोलाई सौभाग्य सम्झँदै किसान मानो रोपेर मुरी उब्जाउने अभियानमा छन्।
राष्ट्रिय धान दिवससमेत रहेको असार १५ मा जितपुरफेदीमा देखिएको यो रोपाइँ सामान्य खेतीपाती मात्र थिएन, भव्य सांस्कृतिक उत्सवजस्तो देखिन्थ्यो। परम्परागत रातो बुट्टे चोली र कालो गुन्यूमा सजिएका रोपारहरूको टोलीले जब खेतका गरामा धानका बिरुवा गाँज्न थाले, तब वातावरण नै संगीतमय बन्यो।
रोपाइँलाई थप उल्लासमय बनाउन पञ्चेबाजाको टोली नै खेतको डिलमा उपस्थित थियो। सनाई र दमाहाको तालमा रोपारहरूले धानका बीउ रोप्दै गर्दा बाटो हिँड्ने बटुवाहरूसमेत मन्दमुग्ध देखिन्थे। हिलो छ्यापाछ्याप गर्दै, असारे गीत गाउँदै र पञ्चेबाजाको धुनमा खुट्टा टेक्दै रोपाइँ गर्नुले नेपाली मौलिक श्रम संस्कृतिको जीवन्त तस्बिर झल्काउँथ्यो।
रोपाइँमा बाउसेहरूको सक्रियता पनि लोभलाग्दो थियो। कोही खेत सम्याउँदै थिए त कोही पानीको कुलो व्यवस्थापनमा व्यस्त थिए। हातमा धानका बीउ समातेर मुस्कुराइरहेका दिदीबहिनीहरूको मुहारमा देशको मेरुदण्ड मानिने कृषिको गर्व झल्किन्थ्यो। आधुनिकताको चपेटामा हराउँदै गएको ’असार १५’ को रौनकतालाई जितपुरफेदीले यसरी नै जोगाइराखेको भान हुन्छ।
समय मोबाइल र सेल्फीको पनि हो। रोपाइँको बीचमा टिकटक बनाउने, तस्बिर खिच्ने र यो खुसीलाई फैलाउन युवापुस्ता पनि निकै सक्रिय देखिएका थिए। तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल