बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बेनी–जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो

शुक्रबार, चैत १८ २०७८
बेनी–जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो

म्याग्दी- जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका (टाइमकार्ड) हटाइएको छ। 

बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक छ घण्टा सवारी साधन आवतजावत रोकेर सडक स्तरोन्नतिको काम गरिँदै आएको थियो। बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले चैते दसैंसम्मका लागि सडकमा यातायात बन्द नगरिने जानकारी दिए। 

‘मुस्ताङमा तीर्थयात्री र पर्यटकको चाप बढेपछि स्थानीय प्रशासनको अनुरोधमा चैते दसैंसम्मका लागि समय तालिका हटाएका छौँ,’ उनले भने, ‘सवारी आवतजावत प्रभावित नहुनेगरी सडक निर्माणलाई निरन्तरता दिने व्यवस्था मिलाएका छौँ।’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर, वडा नं २ नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिर खण्डमा बिहान ८ देखि ११ बजे र दिउँसो १ देखि ४ बजेसम्म सडकमा यातायात आवतजावत बन्द गरेर बिस्तार र निर्माणको काम गर्न समय तालिका बनाइएको थियो। 

यस वर्षको चैतेदसैंपर्व चैत २६ गते परेको छ। चैते दसैंको समयमा मुस्ताङको कागबेनीमा दिवङ्गत आफन्तको स्मृतिमा पिण्डदान गर्ने चलन छ। भ्रमणको याम भएकाले स्वदेश तथा विदेशबाट मुस्ताङ घुम्न आएका पर्यटकको चाप पनि बढेको छ। मुस्ताङमा केही दिनयता दैनिक तीन हजार जनाको हाराहारीमा तीर्थयात्री र पर्यटक भित्रिएका छन्। 
 
विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ खण्डमा निर्माण भइरहेको छ। हालसम्म मुस्ताङका छ खण्डमा निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत छ। 


प्रकाशित : शुक्रबार, चैत १८ २०७८०४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend