काठमाडौं- पर्यटनलाई कृषिसँग जोड्दै मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउने उद्देश्यले ‘रोपाइँ’ महोत्सव आयोजना गरिएको छ।
तीन दशकदेखि मुलुकको ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनमा क्रियाशील गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले आइतबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ सुकौरा फाँटमा रोपाईँ महोत्सव आयोजना गरेको हो।
‘समुन्नत नेपालको प्राथमिक आधारः पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलियाले बताए। स्थानीय संस्कृति, परम्परा, कृषि तथा ग्रामीण पर्यटनको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको रोपाईँ महोत्सवले ग्रामीण अर्थतन्त्रमा विशेष योगदान पुग्ने विश्वास व्यक्त गरे।
भिटोफका संस्थापक महासचिव शम्भु पाठकले पर्यटनसँग जोडिएका यस्ता कार्यक्रमले ग्रामीण विकासमा इँटा थप्ने बताउँदै सबैलाई पर्यटन अभियानमा समर्पित हुन आग्रह गरे।
महोत्सवमा भिटोफका प्रमुख सल्लाहकार आलोक प्रसाईं, सल्लाहकार दीपक दाहाल, पर्यटन महिला सञ्जालकी पूर्व अध्यक्ष निर्मला धमला, भिटोफका पूर्वअध्यक्ष बोधराज भण्डारी र शिव लामिछानेको सहभागीता रहेको थियो।महोत्सवले स्थानीय पर्यटन र कृषिको प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।रासस