काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। गत असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
शपथग्रहणपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्न निर्देशन दिए। उनले कुनै पनि प्रकारका लोभ, प्रलोभन वा बाह्य प्रभावमा नपरी निष्पक्ष रूपमा नियामकीय जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
अर्थमन्त्री वाग्लेले पुँजी बजारमा विश्वास अभिवृद्धि गर्दै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिलाई गति दिन बोर्डले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्। म साथमा छु। सरकारले सबैखाले सहयोग गर्छ। पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस्,’ उनले भने।
उनले पुँजी बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाका तथा एक वर्षका स्पष्ट कार्ययोजना तयार गरी मन्त्रालयमा पेस गर्नसमेत निर्देशन दिए।
बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामा त्रास सिर्जना हुने गरेको उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रण गरी बजारमा विश्वास कायम गर्नुपर्नेमा पनि उनले जोड दिए।
‘पुँजी बजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस्। बजारमा विश्वास बढाउँदै नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्। मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन। धेरै बोलेर होइन, नतिजाबाट काम देखाउनुहोस्। मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ,’ अर्थमन्त्री वाग्लेले भने।
कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टले सरकारको नीति र अर्थमन्त्रीले दिएको मार्गदर्शनअनुसार पुँजी बजारको विकास तथा सुदृढीकरणका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले आफ्नो ज्ञान, अनुभव र सीपलाई लगानीकर्ताको हित संरक्षण तथा सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न उपयोग गर्ने बताए।
अध्यक्ष भट्टले पुँजी बजार सुधारका लागि विभिन्न समयमा तयार भएका अध्ययन प्रतिवेदन र सिफारिसहरू कार्यान्वयन गर्दै बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने दिशामा निरन्तर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।