काठमाडौं- राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। किसान खेतमा धान रोप्दै असारे भाका गाउँदै रमाइरहेका छन् भने अन्य पेसा–व्यवसायमा संलग्न नेपालीले पनि दही-चिउरा खाएर यस पर्व मनाइरहेका छन्।
असार १५ लाई नेपाली समाजमा धान रोपाइँसँगै दही-चिउरा खाने सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ। खेतमा लामो समय श्रम गरेपछि शरीरलाई शीतलता र ऊर्जा मिल्ने विश्वासका साथ किसानले दही-चिउरा खाने परम्परा रहिआएको छ।
नेपाली संस्कृतिमा दहीलाई शुभको प्रतीक मानिन्छ। घरबाट शुभकार्यका लागि निस्कँदा, यात्रा गर्दा वा विदेश जाँदा सगुनका रूपमा दही खाने तथा दही–अक्षता लगाएर बिदाइ गर्ने चलन आज पनि कायम छ। दहीले पाचन शक्ति बढाउने, शरीरलाई चिस्यान दिने तथा स्वास्थ्यका लागि लाभदायक हुने विश्वास आयुर्वेद र आधुनिक पोषण विज्ञान दुवैले स्वीकार गरेका छन्।
आयुर्वेदमा ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ अर्थात् भोजनपछि मोही पिए चिकित्सकको आवश्यकता पर्दैन भन्ने भनाइसमेत उल्लेख छ। पखालालगायत केही अवस्थाहरूमा दही–चिउरा उपयोगी मानिने विश्वास पनि नेपाली समाजमा प्रचलित छ।
नेपालमा राष्ट्रिय धान दिवस भने विसं २०६२ असार १५ गतेदेखि औपचारिक रूपमा मनाउन थालिएको हो। विसं २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार धान उत्पादनको महत्त्व उजागर गर्न यो दिवस सुरु गरिएको थियो।
कृषिप्रधान देश नेपालमा असार महिना धान रोपाइँको मुख्य समय हो। यही बेला किसानहरू ‘असारे भाका’ गाउँदै हिलोमा धान रोप्ने परम्परा छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकगीतले खेतबारी गुञ्जिने गर्छन्। रोपाइँका क्रममा हिलो छ्यापाछ्याप गर्दै रमाइलो गर्ने चलन पनि नेपाली ग्रामीण संस्कृतिको अभिन्न हिस्सा बनेको छ।
तर यस वर्ष असारको मध्यसम्म पनि देशका धेरै क्षेत्रमा पर्याप्त वर्षा नभएकाले धान रोपाइँ अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। कतिपय स्थानमा किसानले रासायनिक मलको अभाव भएको गुनासो गरिरहेका छन्। यद्यपि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक रासायनिक मलको मौज्दात पर्याप्त रहेको जनाएको छ। धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले समयमै रोपाइँ सम्पन्न हुनु उत्पादन, खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रका लागि महत्वपूर्ण मानिन्छ। रासस