सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

भारतको नयाँ निर्णयपछि नेपाली चिया निर्यात सहज हुने अपेक्षा, अब २० प्रतिशत नमुनामात्र परीक्षण हुने

सोमबार, असार १५ २०८३
भारतको नयाँ निर्णयपछि नेपाली चिया निर्यात सहज हुने अपेक्षा, अब २० प्रतिशत नमुनामात्र परीक्षण हुने

भारत सरकारले आयातित चियाको परीक्षण सम्बन्धी व्यवस्थामा संशोधन गर्दै जोखिममा आधारित परीक्षण प्रणाली लागु गर्ने निर्णय गरेपछि नेपाली चिया उद्योगी तथा किसानले राहत महसुस गरेका छन्।

काठमाडौं- भारत सरकारले आयातित चियाको परीक्षण सम्बन्धी व्यवस्थामा संशोधन गर्दै जोखिममा आधारित परीक्षण प्रणाली लागु गर्ने निर्णय गरेपछि नेपाली चिया उद्योगी तथा किसानले राहत महसुस गरेका छन्।

भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले २३ जुन २०२६ मा जारी गरेको परिपत्रअनुसार अब भारतमा आयात हुने चिया (एचएसएन ०९०२) को केवल २० प्रतिशत नमुना मात्र अनियमित रूपमा परीक्षणका लागि छनोट गरिनेछ। यो व्यवस्था भारतका सबै भन्सार नाकामा तत्काल लागु गरिएको प्राधिकरणले जनाएको छ।

यसअघि प्रत्येक खेपमा हुने कडा परीक्षण तथा लामो प्रक्रियाका कारण नेपाली चिया निर्यात प्रभावित हुँदै आएको थियो। नयाँ व्यवस्थाले भने निर्यात प्रक्रिया सहज बन्ने अपेक्षा गरिएको छ।

भारतीय वाणिज्य सचिवको अध्यक्षतामा १६ जुनमा बसेको बैठकले घरेलु उपभोगका लागि आयात हुने चियामा जोखिमका आधारमा परीक्षण गर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्न प्राधिकरणले नयाँ जोखिम व्यवस्थापन प्रणाली लागु गरेको हो।

पछिल्लो समय भारतको टी बोर्ड तथा सम्बन्धित निकायहरूले नेपाली चियामा थप परीक्षण, कागजी प्रक्रिया र प्रशासनिक झन्झट बढाएपछि नेपालबाट हुने तयारी चियाको निर्यात प्रभावित बनेको थियो। सीमामा चियाका खेप लामो समय रोकिँदा उद्योगीहरूले आर्थिक क्षति व्यहोर्नुपरेको थियो भने निर्यात प्रक्रिया अनिश्चित बनेको गुनासो गर्दै आएका थिए।

यही समस्याका कारण इलामका चिया उद्योगहरूले असार १ गतेदेखि तथा झापाका उद्योगहरूले असार ४ गतेदेखि उद्योग बन्द गरेर आन्दोलनसमेत गरेका थिए। उनीहरूले नेपाल सरकारले भारतसँग कूटनीतिक पहल गर्नुपर्ने माग गरेका थिए। उद्योग बन्द हुँदा हजारौं मजदुर प्रभावित भएका थिए भने किसानले उत्पादन गरेको हरियो चिया पत्ती बिक्री हुन नसक्ने अवस्था सिर्जना भएको थियो।

आन्दोलनपछि नेपाल सरकार, उद्योगी र भारतीय पक्षबीच विभिन्न चरणमा संवाद भएको थियो। त्यसपछि केही सहमति बनेसँगै बन्द उद्योगहरू पुनः सञ्चालनमा आएका थिए।

चिया उत्पादक तथा निर्यातकर्ताहरूका अनुसार भारतले लागू गरेको २० प्रतिशत जोखिममा आधारित परीक्षण प्रणालीले निर्यात प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसअघि प्रत्येक खेपमा हुने विस्तृत परीक्षणका कारण चिया सीमामा लामो समय रोकिने, गुणस्तरमा असर पर्ने र लागत बढ्ने समस्या देखिँदै आएको थियो।

यद्यपि उद्योगीहरूले विगतमा पनि यस्तै प्रकृतिको पत्राचार भए पनि भारतीय टी बोर्डले व्यवहारमा शतप्रतिशत परीक्षणको अभ्यास कायम राखेकाले यसपटक पनि निर्णयको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार प्राधिकरणको पछिल्लो पत्रपछि भारतीय व्यवसायीहरू नेपाली चिया खरिद गर्न उत्साहित देखिएकाले यसपटक निर्यातमा देखिएको अवरोध हट्ने आशा गरिएको छ।

नेपालको अधिकांश अर्थोडक्स तथा सिटिसी चिया भारतीय बजार हुँदै तेस्रो मुलुकमा समेत निर्यात हुने भएकाले भारतको नीति परिवर्तनले नेपाली चिया क्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमका हजारौं किसान तथा दर्जनौं चिया उद्योग भारतीय बजारमा निर्भर छन्।

चिया क्षेत्रका सरोकारवालाले भारतको पछिल्लो निर्णयलाई सकारात्मक संकेतका रूपमा स्वागत गर्दै यसको प्रभावकारी र निरन्तर कार्यान्वयनमा जोड दिएका छन्। उनीहरूका अनुसार जोखिममा आधारित २० प्रतिशत परीक्षणको व्यवस्था व्यवहारमै लागू भए नेपाली चिया निर्यातमा देखिएको अवरोध धेरै हदसम्म हट्नेछ।

उद्योगीहरूले नेपाल सरकारलाई पनि भारतीय पक्षसँग निरन्तर समन्वय गरी नेपाली चिया निर्यातका लागि दीर्घकालीन, स्थायी र पूर्वानुमानयोग्य व्यवस्था सुनिश्चित गर्न आग्रह गरेका छन्।


प्रकाशित : सोमबार, असार १५ २०८३०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend