बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

बढ्दो प्रतिस्पर्धाबीच एमजी ब्रान्डको गाडी बिक्रेता प्यारामाउन्ट मोटर्सको नौ महिनामा २ अर्ब ४० करोड रुपैयाँ आम्दानी

कुल सञ्चालन आम्दानीको ८७ प्रतिशत हिस्सा एमजी-४ ईभी र एमजी एस-५ बाट

बुधबार, असार १७ २०८३
बढ्दो प्रतिस्पर्धाबीच एमजी ब्रान्डको गाडी बिक्रेता प्यारामाउन्ट मोटर्सको नौ महिनामा २ अर्ब ४० करोड रुपैयाँ आम्दानी

काठमाडौंको नक्सालस्थित प्रधान कार्यालय रहेको कम्पनीले हाल आफ्नै तीनवटा शोरुम र देशभर १५ वटा आधिकारिक डिलरमार्फत बिक्री गरिरहेको छ।

काठमाडौं- नेपालमा एमजी ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिको कारोबारमा गिरावट आएको छ। बढ्दो प्रतिस्पर्धा, मूल्य दबाब र सीमित मोडलमा निर्भर कारोबारका कारण कम्पनीको सञ्चालन आम्दानीसँगै नाफामा समेत दबाब परेको छ। यद्यपि, कम्पनीले नयाँ मोडल थप्दै व्यवसाय विस्तारको रणनीति अघि बढाएको छ।

इक्रा नेपालले सार्वजनिक गरेको पछिल्लो रेटिङ प्रतिवेदनअनुसार कम्पनीको १ अर्ब ८० करोड रुपैयाँ बराबरको अल्पकालीन ऋण सुविधाको ‘आईसीआरएएनपी ए-४’ रेटिङलाई यथावत् राखेको छ। रेटिङ एजेन्सीले कम्पनीको बजारस्थिति, अनुभवी व्यवस्थापन, बिक्री सञ्जाल तथा विद्युतीय सवारीसाधनप्रति सरकारी नीतिगत सहुलियतलाई सकारात्मक पक्षका रूपमा उल्लेख गरेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा कम्पनीले २ अर्ब ४० करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ८६ करोड ५० लाख रुपैयाँ थियो। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को ४ अर्ब १२ करोड ५० लाख रुपैयाँको तुलनामा करिब ६.३ प्रतिशत अर्थात् २६ करोड रुपैयाँले कम हो।

पछिल्ला वर्षहरूमा कम्पनीको कारोबार तीव्र रूपमा बढेको थियो। आर्थिक वर्ष २०७५/७६ मा २७ करोड ५० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७६/७७ मा ७९ करोड ४० लाख रुपैयाँ, २०७७/७८ मा ७१ करोड ३० लाख रुपैयाँ, २०७८/७९ मा ३ अर्ब ४७ करोड रुपैयाँ, २०७९/८० मा २ अर्ब ७ करोड ६० लाख रुपैयाँ, २०८०/८१ मा ४ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुगेको थियो। तर गत आर्थिक वर्षमा भने आम्दानी घटेको देखिएको छ।

सन् २०१६ अगस्टमा स्थापना भएको प्यारामाउन्ट मोटर्सले चीनको एसएआईसी मोटर कर्पोरेसनसँगको सम्झौताअनुसार नेपालमा एमजी ब्रान्डका सवारीसाधन बिक्री–वितरण गर्दै आएको छ। त्यसपछि सन् २०२० मा जापानको माज्दा मोटर कर्पोरेसनसँग सम्झौता गरी माज्दा ब्रान्डको आधिकारिक वितरक बनेको कम्पनीले सन् २०२४ देखि चिनियाँ विद्युतीय सवारी ब्रान्ड वुलिङका सवारीसाधन पनि नेपाली बजारमा ल्याउन थालेको छ।

काठमाडौंको नक्सालस्थित प्रधान कार्यालय रहेको कम्पनीले हाल आफ्नै तीनवटा शोरुम र देशभर १५ वटा आधिकारिक डिलरमार्फत बिक्री गरिरहेको छ।

इक्रा नेपालका अनुसार कम्पनीको सञ्चालन नाफा मार्जिन निरन्तर दबाबमा परेको छ। आर्थिक वर्ष २०८०/८१ मा ६.८ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन घटेर २०८१/८२ मा ५.२ प्रतिशतमा सीमित भएको छ। विद्युतीय सवारीसाधन क्षेत्रमा नयाँ-नयाँ ब्रान्डको प्रवेश, तीव्र मूल्य प्रतिस्पर्धा तथा बजार विस्तारको होडले कम्पनीको नाफामा असर परेको प्रतिवेदनमा उल्लेख छ। यद्यपि मौज्दातमा रहेका सवारीसाधन बिक्री बढाउने रणनीतिका कारण चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सञ्चालन नाफा मार्जिन केही सुधार हुँदै ६ प्रतिशत पुगेको छ।

कम्पनीको वित्तीय अवस्था अझै दबाबमा रहेको देखिएको छ। कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात आर्थिक वर्ष २०८१/८२ मा ९ गुणा पुगेको छ भने चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ९.२ गुणा रहेको छ। ब्याज भुक्तानी क्षमता पनि लगातार कमजोर बन्दै गएको छ। आर्थिक वर्ष २०८०/८१ मा १.९ गुणा रहेको ब्याज कभरेज अनुपात घटेर २०८१/८२ मा १.७ गुणा र चालु आवको नौ महिनामा १.३ गुणामा झरेको छ। यसले कम्पनीको सञ्चालन नाफाबाट ब्याज तिर्ने क्षमता कमजोर बन्दै गएको संकेत गरेको आईसीआरए नेपालले जनाएको छ।

तरलता व्यवस्थापन पनि कम्पनीका लागि चुनौतीपूर्ण बनेको छ। सवारीसाधन बिक्री–वितरण व्यवसाय स्वभावतः कार्यशील पुँजीमा निर्भर हुने भए पनि कम्पनीले गत आर्थिक वर्षको अन्त्यतिर उल्लेख्य मात्रामा मौज्दात बढाएपछि कार्यशील पुँजीमा थप दबाब परेको हो। सञ्चालन आम्दानीको तुलनामा खुद कार्यशील पुँजीको अनुपात गत आर्थिक वर्षको ५६ प्रतिशतबाट बढेर चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ६६ प्रतिशत पुगेको छ। बैंकबाट स्वीकृत कर्जा सीमाको करिब ९९ प्रतिशत उपयोग भइरहेकाले कम्पनीको तरलता अवस्था अझै दबाबमा रहेको प्रतिवेदनले देखाएको छ।

इक्रा नेपालले कम्पनीको कारोबार सीमित मोडलमा अत्यधिक निर्भर रहेको विषयलाई पनि जोखिमका रूपमा औंल्याएको छ। गत आर्थिक वर्ष कम्पनीको कुल आम्दानीमध्ये करिब ८७ प्रतिशत हिस्सा एमजी-४ ईभी र एमजी एस-५ मोडलबाट मात्रै आएको थियो। यी मोडलको मागमा कमी आए वा प्रतिस्पर्धी कम्पनीले नयाँ आकर्षक मोडल बजारमा ल्याए कम्पनीको आम्दानी र बजार हिस्सामा प्रत्यक्ष असर पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ।

यद्यपि कम्पनीले नयाँ मोडल थपेर व्यवसाय विस्तार गर्ने रणनीति लिएको छ। सन् २०२५ मार्चमा बजारमा ल्याइएको एमजी एस–५ ले मात्रै गत आर्थिक वर्षको कुल आम्दानीमा करिब ४२ प्रतिशत योगदान दिएको थियो। हालै सार्वजनिक गरिएको एमजी एस-६ मोडलबाट आगामी दिनमा बिक्री थप बढ्ने कम्पनीको अपेक्षा छ। त्यस्तै वुलिङ ब्रान्डका थप विद्युतीय सवारी, विशेषगरी चार ढोका भएको सानो विद्युतीय गाडी नेपाली बजारमा ल्याउने तयारी पनि कम्पनीले गरिरहेको छ।

यससँगै कम्पनीले मर्सिडिज बेन्ज ब्रान्डका सवारीसाधनका लागि नेपालमा नयाँ आधिकारिक सेवा केन्द्र सञ्चालन गर्ने योजना अघि बढाएको छ। इक्रा नेपालका अनुसार नयाँ मोडल, सेवा विस्तार र व्यवसाय विविधीकरणका यी योजनाले आगामी वर्ष कम्पनीको आम्दानी वृद्धिमा सहयोग पुर्‍याउन सक्नेछन्। 


प्रकाशित : बुधबार, असार १७ २०८३१०:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend