काठमाडौं- भारततर्फ चिया निर्यातमा देखिएको अवरोधका कारण बन्द भएका पूर्वका चिया उद्योग पुनः सञ्चालनमा आएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समस्या समाधानका लागि तत्काल कूटनीतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगीहरूले आन्दोलन फिर्ता लिँदै उद्योग खोल्ने निर्णय गरेका हुन्।
भारतले नेपालबाट निर्यात भएको तयारी चियालाई प्रयोगशाला परीक्षणको बहानामा रोकेपछि करिब ३ लाख केजी चिया भारतीय गोदाममा थन्किएको छ। त्यस्तै १० लाख केजीभन्दा बढी चिया नेपालकै गोदाममा रोकिएको भन्दै उद्योगीहरूले आन्दोलन थालेका थिए। इलामका उद्योगीले असार १ गतेदेखि र झापाका उद्योगीले असार ४ गतेदेखि उद्योग बन्द गरेका थिए।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले प्रधानमन्त्री कार्यालयले चिया क्षेत्रका समस्या समाधानका लागि शीघ्र कूटनीतिक पहल गर्ने प्रतिबद्धता जनाएपछि उद्योग सञ्चालनमा फर्किएको जानकारी दिए।
उनका अनुसार बिहीबार केही उद्योग सञ्चालनमा आए भने शुक्रबारदेखि झापा, इलामसहित पूर्वका सबै चिया उद्योग र बगानहरू नियमित रूपमा सञ्चालन हुनेछन्।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि विशेष कार्यदल गठन गरेको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा गठन गरिएको कार्यदललाई दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका सुझावसहित प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, गृह, परराष्ट्र, कृषि, वन तथा वातावरण मन्त्रालयका प्रतिनिधिका साथै भन्सार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र उद्योग मन्त्रालयका अधिकारीहरू सदस्य रहेका छन्।
सरकारको यही पहलप्रति विश्वास व्यक्त गर्दै उद्योगीहरूले चिया उद्योग लामो समय बन्द राख्दा किसान र मजदुरमाथि गम्भीर असर पर्ने निष्कर्षसहित उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको बताएका छन्।
भारतको अवरोधका कारण झापा र इलामसहित पूर्वका ९९ वटा चिया उद्योग बन्द भएका थिए। उद्योग बन्द हुँदा सयभन्दा बढी साना तथा ठूला चिया बगानमा हरियो चियापत्ती टिप्ने कामसमेत प्रभावित भएको थियो।

