काठमाडौं- विगत लामो समयदेखि थन्किएका उजुरी तथा बीचमै रोकिएका अनुसन्धानलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अघि बढाइरहेको छ।
दीपक भट्ट जोडिएको एउटा मुद्दा हालैमात्र दायर भइसकेको छ भने अजयराज सुमार्गीको पनि अनुसन्धान अघि बढेको छ।
दशकअघिदेखि उजुरी परेका, बीचमै रोकिएका वा अलपत्र परेकालाई अघि बढाउने काम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरिरहेको छ।
नयाँ उजुरी तथा सम्धन्धित कसरबाट सिफारिस भएर आएकाबाहेक सकभर पुरानै फाइललाई छिटो टुंगोमा पुर्याउनेगरी काम भइरहेको विभागनिकट स्रोतले जानकारी दिएको छ।
‘विगत लामो समयदेखि थन्किएका उजुरीमात्र होइन कतिपय पूरक अनुसन्धान पनि अघि बढाइरहेका छौँ’ विभागनिकट स्रोतले भन्यो।
विगतको राजनीतिक समीकरण तथा संरक्षणका कारणले अवरुद्ध भएका कुनै पनि अनुसन्धान रोकिन नहुने र सबै क्लियर गर्नुपर्ने सरकारको स्पष्ट नीति र आदेश रहेको छ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धान र अभियोजनसँगै कसुरबाट आर्जित सम्पत्तिको रोक्का, लिलाम तथा जफतलाई विभागले तीव्रता दिइरहेको छ।
एफएटीएफले विशेष ध्यान त्यसमा पनि दिइरहेकले मौद्रिक भ्यालु निकाल्ने र त्यसको विशेष व्यवस्थित प्रणाली बनाउने काम पनि भइरहेको विभागका अधिकारीहरूले जानकारी दिएका छन्।
यो सरकार आएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई फेरि पूर्ण अधिकार दिइसकेको छ।
यसअघि विभिन्न निकायलाई अधिकार दिएर विभागलाई अधिकारविहीन बनाइएको थियो। अब भने सम्बन्धित कसुरको अनुसन्धान गर्ने निकायसँगै विभागलाई पनि अधिकारसम्पन्न बनाइएको छ।

