काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीले असन्तुष्टी जनाएका छन्। बिहीबार विधार्थीले परीक्षाफलको विश्वसनीयप्रति प्रश्न उठाउँदै माइतीघरमा धर्नामा दिएका हुन्।
आफूहरूले परीक्षा राम्रो दिएपनि अपेक्षा गरेकोभन्दा निकै कम ग्रेड प्राप्त गरेको उनीहरुको गुनासो छ। उनीहरुले उत्तरपुस्तिका फेरि परीक्षण गर्नुपर्ने माग राखेका छन्।
विद्यार्थी रञ्जित कार्कीले परीक्षामा लेखेअनुसारको अंक नआएको बताए। परीक्षाफल छिटो निकाल्ने नाममा मूल्यांकन प्रक्रियामा लापरबाही गरिएको उनको आरोप छ। उनले कुन मापदण्डको आधारमा एक महिनामै नतिजा सार्वजनिक गरिएको हो? भन्ने प्रश्न पनि उठाए।
उनले पुनः उत्तरपुस्तिका परीक्षण गर्दा निःशुल्क हुनुपर्ने पनि बताए। विद्यार्थीको गल्ती नभएको अवस्थामा पुनः परीक्षणका लागि शुल्क लिनु अन्याय हुने उनको भनाइ छ।
‘हाम्रो कापी एकपटक पुन परीक्षण गर्नुपर्छ। अहिले हामीले परीक्षामा लेखेअनुसारको अंक आएको छैन। राम्रो परिक्षाफल ल्याउने विद्यार्थीहरु पनि अहिले कम ग्रेड पाउनुभएको छ। यो विद्यार्थीको भविष्यमाथीको खेलवाड हो। एक महिनामा नै रिजल्ट निकाल्ने नाममा हेलच्याक्र्याँई गरेर विद्यार्थीको भविष्यमाथी किन खेलबाड गरेको? रिजल्ट छिट्टै निकालिएको छ, त्यो कुन मापदण्डबाट निकालिएको हो, हामीलाई जानकारी दिनुपर्छ। कापी पुन परीक्षण गर्दा निःशुल्क गर्नुपर्छ’ उनले भने।
विद्यार्थी स्मृति खतिवडाले पनि परीक्षाफलप्रति व्यापक असन्तुष्टि रहेको बताइन्। उत्तिर्ण भएका धेरै विद्यार्थीसमेत आफ्नो नतिजाबाट सन्तुष्ट नरहेको उनको भनाइ छ। उनले केवल नतिजाको पुनः योगले मात्रै समस्या समाधान नहुने बताउँदै उत्तरपुस्तिकाको पुनः जाँच गर्नुपर्ने बताइन्।
‘अधिकांश उत्तिर्ण भएका विद्यार्थीले पनि रिजल्टप्रति असन्तुष्टी देखाएका छन्। उनीहरुले आफूले लेखेजस्तो अंक पाएका छैनन्, यो किन यस्तो भयो सरकारले हामीलाई जवाफ दिनुपर्छ। रिटोटलिङ गरेर मात्रै हुँदैन, हाम्रो उत्तरपुस्तिका रि–चेकिङ नै गर्नुपर्छ। तब मात्र वास्तविकता बाहिर आउँछ’ उनले भनिन्।
विद्यार्थीले त्रुटीपूर्ण परीक्षाफल सार्वजानिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथी खेलबाड गरेको आरोप लगाएका छन्। विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डले गर्ने गल्तीमा पनि विद्यार्थीलाई दोषी देखाएर शुल्क असुल गर्ने गरेको आरोप लगाएका छन्।
विद्यार्थीलाई अन्याय गर्ने, फेरि आर्थिक भार पनि थप्ने काम बन्द हुनुपर्ने उनीहरुको माग छ। त्रुटीपूर्ण परीक्षाफल सार्वजानिक गरेको कारण केही विद्यार्थीले आत्महत्या समेत गरेको उनीहरुको भनाइ छ।
आन्दोलनमा सहभागीहरुले '१२ वर्षको मेहनत खेर? यसको जिम्मेवार को? जवाफ दे!' 'हाम्रो भविष्य बर्बाद भयो, हामी न्याय खोज्न कहाँ जाउँ?' 'अनफेयर रिजल्ट' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।