काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः पश्चिम एसियामा भएको युद्धअघिकै तहमा झरेको छ। पश्चिम एसियामा इरान, इजरायल र अमेरिकाबीचको तनाव चर्किएसँगै विश्व तेल बजारमा अनिश्चितता बढेको थियो।
पश्चिम एसियामा बढेको तनावका कारण केही साताअघि तीव्र रूपमा उकालो लागेको कच्चा तेलको मूल्य अहिले आपूर्ति अवरुद्ध हुने जोखिम कम भएसँगै घट्न थालेको हो।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल ७२.६० अमेरिकी डलरमा झरेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १.५५ प्रतिशतले कम हो। अमेरिकी डब्लूटीआई कच्चा तेलको मूल्य पनि १.२७ प्रतिशतले घटेर ६९.४५ डलर प्रतिव्यारेलमा सीमित भएको छ।
त्यस्तै, मर्बान क्रुडको मूल्य ४.५७ प्रतिशतले घटेर ६६.४५ डलरमा पुगेको छ भने भारतीय बास्केटको औसत मूल्य ७५.२८ डलर प्रतिव्यारेलमा झरेको छ। ओपेक बास्केटको मूल्य पनि ८०.२६ डलरमा सीमित भएको छ।
विश्वको करिब २० प्रतिशत समुद्री तेल आपूर्ति ओसारपसार हुने रणनीतिक मार्ग स्ट्रेट अफ होर्मुज प्रभावित हुन सक्ने आशंकाले बजारमा त्रास फैलिएको थियो। त्यसक्रममा ब्रेन्ट क्रुडको मूल्य केही साताअघि ९८ डलर प्रतिव्यारेलसम्म पुगेको थियो।