जनकपुरधाम- मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि उत्पादन घटेको छ। यस वर्ष हावाहुरी र रोग-कीराको प्रकोपका कारण यस वर्ष उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताए।
किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको, बगैँचा व्यवस्थापन तथा सिँचाइ प्रणालीमा सुधार आएको भएपनि उत्पादनमा हावाहुरीले क्षति पुर्याएपछि किसान भने चिन्तित छन्।
कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रदेशभर ३२ हजार ५७४ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएको छ। उक्त क्षेत्रफलबाट प्रतिहेक्टर औसत नौ दशमलव चार मेट्रिक टन उत्पादकत्वका दरले दुई लाख ९४ हजार ५६७ मेट्रिक टन आँप उत्पादन भएको बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिए।
अघिल्लो आव २०८१-८२ मा २९ हजार ८ सय ८० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११ दशमलव ४३ मेट्रिक टन उत्पादकत्वका दरले तीन लाख ४१ हजार ४ सय ४५ मेट्रिक टन आँप उत्पादन भएको थियो।
तुलनात्मक रुपमा चालु वर्ष आँपखेतीको क्षेत्रफल दुई हजार ६सय ९४ हेक्टरले बढे पनि उत्पादन ४६ हजार ८ सय ७८ मेट्रिक टनले घटेको देखिएको छ। निर्देशनालयका अनुसार यस वर्ष सबैभन्दा बढी उत्पादकत्व बारामा प्रतिहेक्टर १३ दशमलव ८० मेट्रिक टन र सबैभन्दा कम सर्लाहीमा प्रतिहेक्टर ६ दशमलव २० मेट्रिक टन रहेको छ।
जिल्लागत रूपमा सप्तरीमा आठ हजार ३८७ हेक्टर क्षेत्रफलबाट ७५ हजार ५०० मेट्रिक टन, सिरहामा नौ हजार ५० हेक्टरबाट ७२ हजार ४ सय मेट्रिक टन तथा रौतहटमा चार हजार ७ सय ७० हेक्टर क्षेत्रफलबाट ५४ हजार ३ सय ७८ मेट्रिक टन आँप उत्पादन भएको छ।
त्यसैगरी, सर्लाहीमा दुई हजार १ सय हेक्टरबाट १३ हजार २० मेट्रिक टन, महोत्तरीमा तीन हजार हेक्टरबाट २९ हजार ७०० मेट्रिक टन, धनुषामा तीन हजार ३२५ हेक्टरबाट २३ हजार २ सय ७५ मेट्रिक टन, बारामा एक हजार ४९५ हेक्टरबाट २० हजार ६३१ मेट्रिक टन तथा पर्सामा ४ सय ४७ हेक्टर क्षेत्रफलबाट पाँच हजार ९ सय ६३ मेट्रिक टन आँप उत्पादन भएको तथ्यांक छ।
मधेस प्रदेशमा मालदह, दशहरी, बम्बई, कलकतिया र आम्रपालीलगायत जातका आँप उत्पादन हुन्छ । यहाँ उत्पादन भएका आँप प्रदेशभित्रका जिल्लाको साथै काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख बजारमा निर्यात हुँदै आएको छ।
उनका अनुसार उत्पादन घटे पनि दीर्घकालीन रूपमा आँपखेतीको व्यवसायीकरण र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ।