काठमाडौं- निजी तथा सामुदायिक शिक्षण संस्थाहरूको औसत मासिक शुल्क ३ हजार ३ सय रुपैयाँ रहेको एक सर्वेक्षणले देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले गरेको नेपालको शैक्षिक संस्था सर्वेक्षण २०२३/२४ ले नेपालका गैरसकारी शिक्षण संस्थाको प्रतिविद्यार्थी वार्षिक औसत शुल्क ३ हजार ३ सय रुपैयाँ रहेको देखाएको छ।
गैरसरकारी शिक्षण संस्थाको विषयमा मात्र गरिएको यो सर्वेक्षणअनुसार सबै ठाउँमा एकनासको औसत शुल्क भने छैन।
बागमती प्रदेशमा सबैभन्दा धेरै ५ हजार १ सय रूपैयाँ रहेको छ। बागमती प्रदेशका निजी विद्यालयमा एक जना विद्यार्थीले महिनामा औसत ५ हजार १ सय रुपैयाँ तिर्नुपर्छ। त्यस्तै सुदूरपश्चिममा यस्तो औसत शुल्क २ हजार रुपैयाँ छ।
यस्ता विद्यालयहरूले कर्मचारीलाई दिने औसत सुविधा पनि प्रदेशअनुसार फरक रहेको छ। राष्ट्रिय औसत मासिक १६ हजार ३ सय रुपैयाँ छ भने बागमतीमा यस्तो १९ हजार ६ सय र सुदूरपश्चिममा १३ हजार रुपैयाँ छ। प्रतिसंस्था वर्षमा औसतमा १ करोड २२ लाख रुपैयाँ तलबभत्तामै खर्च गर्ने गरेका छन्। यस्तो औसत खर्च बागमतीमा उच्च रहेको छ।
गैरसरकारी शिक्षण संस्थामा सर्वेक्षण अवधिसम्म ३ खर्ब ९ अर्ब रुपैयाँ लगानी भएको छ भने यी संस्थाले बर्सेनि १ खर्ब ६० अर्ब रुपैयाँको मूअभिवृद्धि गर्ने गरेका छन्।
३ लाख ११ हजार ५१६ जना गैरसरकारी शिक्षण संस्थामा संलग्न रहेकोमा ३ लाख २१ जना भने रोजगार रहेका छन्। यो क्षेत्रमा पुरुषभन्दा महिलाले धेरै रोजगारी पाएका छन्।
देशभर १० हजार ४ सय ११ वटा शिक्षण संस्था गैरसकारी रहेका छन्।