बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

वर्ल्डलिंकको रेटिङ स्तरोन्नति : आम्दानी ९ प्रतिशतले बढ्यो, ऋण तिर्ने क्षमता थप बलियो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १० २०८३
वर्ल्डलिंकको रेटिङ स्तरोन्नति : आम्दानी ९ प्रतिशतले बढ्यो, ऋण तिर्ने क्षमता थप बलियो

काठमाडौं- इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको क्रेडिट रेटिङ स्तरोन्नति भएको छ।

केयर रेटिङ्स नेपालले कम्पनीको दीर्घकालीन बैंकिङ सुविधा रेटिङ ‘केयर-एनपी ए’बाट ‘केयर-एनपी ए प्लस’ तथा अल्पकालीन बैंकिङ सुविधा रेटिङ ‘केयर-एनपी ए-टु प्लस’बाट ‘केयर-एनपी ए-वान’मा वृद्धि गरेको हो।

रेटिङ एजेन्सीले कम्पनीको वित्तीय अवस्था, सञ्चालन क्षमता, ग्राहक विस्तार, नगद प्रवाह र ऋण तिर्ने क्षमतामा आएको निरन्तर सुधारलाई आधार बनाएर रेटिङ उकासिएको जनाएको छ।

केयर रेटिङ नेपालको मे २०२६ मा प्रकाशित प्रतिवेदनअनुसार वर्ल्डलिंकको कुल २ अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको बैंकिङ सुविधा रेटिङ गरिएको छ। यसमध्ये १ अर्ब १ करोड १० लाख रुपैयाँ दीर्घकालीन ऋण सुविधा र १ अर्ब ७५ करोड रुपैयाँ अल्पकालीन बैंकिङ सुविधा रहेको छ।

प्रतिवेदनअनुसार कम्पनीको वित्तीय प्रदर्शन पछिल्ला वर्षहरूमा निरन्तर सुधार भइरहेको छ। आर्थिक वर्ष २०८१/८२ मा वर्ल्डलिंकले १२ अर्ब १३ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ११ अर्ब १२ करोड रुपैयाँको तुलनामा करिब ९ प्रतिशत बढी हो।

ग्राहक संख्या निरन्तर बढ्दै जानु र बजारमा कम्पनीको नेतृत्व कायम रहनुले आम्दानी वृद्धिलाई टेवा पुर्‍याएको रेटिङ एजेन्सीले जनाएको छ। कम्पनीको कुल आम्दानीमध्ये करिब ५१ प्रतिशत हिस्सा इन्टरनेट सेवाबाट, ४३ प्रतिशत प्राविधिक सहयोग तथा निगरानी सेवाबाट र बाँकी ६ प्रतिशत नेटवर्क सेवा, उपकरण बिक्री तथा अन्य सेवाबाट प्राप्त भएको छ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पनि कम्पनीको वृद्धिदर कायम रहेको देखिएको छ। अप्रिल मध्यसम्मको अवधिमा कम्पनीले ९ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले बढी हो।

सञ्चालन खर्चमा नियन्त्रण, ब्याज खर्चमा कमी तथा व्यवसाय विस्तारका कारण कम्पनीको सञ्चालन नाफा पनि सुधारिएको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन नाफा मार्जिन ३२.६१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ३१.४५ प्रतिशत थियो।

नाफासँगै कम्पनीको नगद सिर्जना क्षमता पनि उल्लेखनीय रूपमा बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा ९४ करोड रुपैयाँ रहेको ग्रस क्यास एक्रुअल आर्थिक वर्ष २०८१/८२ मा बढेर ३ अर्ब १ करोड रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामै कम्पनीले २ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी नगद सञ्चिति गरिसकेको छ। यसले कम्पनीलाई भविष्यका लगानी तथा विस्तार योजनाका लागि आन्तरिक स्रोतबाटै वित्तीय व्यवस्थापन गर्न सहज बनाएको प्रतिवेदनमा उल्लेख छ।

वर्ल्डलिंकको पूँजी संरचना पनि सुदृढ बन्दै गएको देखिएको छ। कम्पनीले पछिल्ला वर्षहरूमा नेटवर्क विस्तारका लागि ठूलो लगानी गरे पनि त्यसको वित्तीय व्यवस्थापन मुख्यतः आन्तरिक आम्दानी र इक्विटी लगानीबाट गरेको छ।

आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कम्पनीको समग्र ऋण-पूँजी अनुपात ०.८२ गुणामा सीमित रहेको छ। ब्याज तिर्ने क्षमता सूचक १३.८९ गुणासम्म पुगेको छ, जुन अघिल्लो वर्ष ११.८४ गुणा थियो। कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात ०.७६ गुणा रहेको छ भने चालु आर्थिक वर्षको नौ महिनामा यो झन् घटेर ०.६३ गुणामा झरेको छ। यसले कम्पनीको ऋणभार तुलनात्मक रूपमा कम रहेको र ऋण तिर्ने क्षमता बलियो बनेको संकेत गर्छ।

विदेशी लगानीले पनि कम्पनीको वित्तीय आधारलाई थप मजबुत बनाएको छ। सन् २०२३ मा बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टले १ अर्ब ८ करोड रुपैयाँ तथा डोल्मा इम्प्याक्ट फन्डले ९० करोड रुपैयाँ लगानी गरेका थिए। त्यसपछि सन् २०२६ को फेब्रुअरीमा फिनल्यान्ड सरकारसम्बद्ध फिनिस फन्ड फर इन्डस्ट्रियल कोअपरेसनले थप १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ लगानी गरेको थियो।

यससँगै कम्पनीमा कुल प्रत्यक्ष विदेशी लगानी ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। विदेशी लगानीबाट प्राप्त रकम मुख्यतः नेटवर्क विस्तार तथा पूर्वाधार विकासमा खर्च गरिएको कम्पनीले जनाएको छ।

वर्ल्डलिंकले इन्टरनेट सेवा प्रदायक क्षेत्रमा आफ्नो अग्रता पनि कायम राखेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार सन् २०२५ जुलाईसम्म कम्पनीका ग्राहक संख्या करिब १० लाख १० हजार पुगेको थियो, जसले कुल बजारको करिब ३२ प्रतिशत हिस्सा ओगटेको थियो। सन् २०२६ अप्रिलसम्म ग्राहक संख्या बढेर १० लाख ८० हजार पुगेको छ।

देशभर रहेका करिब ३४ लाख ८० हजार इन्टरनेट ग्राहकहरूमध्ये करिब ३१ प्रतिशत बजार हिस्सा वर्ल्डलिंककै रहेको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष २०८१/८२ मा थपिएका ३ लाख १३ हजार नयाँ ग्राहकहरूमध्ये ९४ हजारभन्दा बढी ग्राहक वर्ल्डलिंकले मात्रै आकर्षित गर्न सफल भएको थियो।

कम्पनीले परम्परागत इन्टरनेट सेवाबाहेक डाटा सेन्टर व्यवसायमा समेत विस्तार गरिरहेको छ। यसका लागि छुट्टै विशेष प्रयोजन कम्पनी स्थापना गरी विभिन्न स्थानमा डाटा सेन्टर पूर्वाधार निर्माणको काम अघि बढाइएको छ। कम्पनीले आफ्नो विद्यमान कर्पोरेट ग्राहक आधारलाई उपयोग गर्दै नयाँ प्रविधि र डिजिटल पूर्वाधार क्षेत्रमा समेत उपस्थिती विस्तार गर्ने रणनीति लिएको छ।


प्रकाशित : बुधबार, असार १० २०८३१३:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend