शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

स्रोत नखुलेको ६३ लाखसहित तीन युवक पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १७ २०७८
स्रोत नखुलेको ६३ लाखसहित तीन युवक पक्राउ

जलेश्वर- विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको ६३ लाख रूपैयाँसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार ५५ लाख रूपैयाँसहित दुई युवक पक्राउ परेका थिए भने बिहीबार ८ लाख रूपैयाँसहित अर्का युवक पक्राउ परे।

जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत आइतबार दिउँसो स्रोत नखुलेको ५५ लाख रूपैयाँसहित औरही नगरपालिका–२ चेपकट गाउँ बस्ने २० वर्षीय धीरजकुमार यादव र सोही स्थान निवासी १८ वर्षीय रमेशकुमार सहनी पक्राउ परेका थिए।

ज ९प ८२४७ नं को मोटरसाइकलमा बसेर कालो झोलामा रु ५५ लाख बोकी गइरहको अवस्थामा प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए। रकमको स्रोत खुलाउन नमानेपछि उनीहरुलाई प्रहरीले कारबाहीका लागि बरामद रकमसहित जलेश्वर भन्सार कार्यालयमा बुझाएको थियो।

त्यसैगरी भारतबाट स्रोत नखुलेको करिब आठ लाख रूपैयाँसहित नेपाल प्रवेश गरेका औरही नगरपालिका–५ बस्ने रामश्रेष्ठ दासका छोरा २० वर्षीय वीरेन्द्रकुमारलाई गएराति प्रहरीले पक्राउ गरेको थियो।

भारत बिहारको कन्हमा सहरबाट कम्मरमा बेरेको कपडा भित्र रकम राखी  साइकलमा सम्सी गाउँपालिका–स्थित प्रहरीचौकी नजिक आउँदै गरेका उनीमाथि शङ्का लागि जाँच गर्दा प्रहरीले स्रोत नखुलेको ७ लाख ९१ हजार रूपैयाँ बरामद गरेको थियो।

पक्राउ परेका  दासलाई गएराति नै मुख्य भन्सार कार्यालय जलेश्वरमा लगिएकामा कार्यालय बन्द भएकाले आज बुझाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए। 


प्रकाशित : बिहीबार , चैत १७ २०७८०८:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend