काठमाडौं- वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले देशभरका उदीयमान तीव्र गतिका बलरको पहिचान र विकास गर्ने उद्देश्यसहित आफ्नो राष्ट्रिय प्रतिभा खोज कार्यक्रम 'बिट द स्पिड' को तेस्रो संस्करण सुरु गरेको छ। अभियानले युवा खेलाडीलाई आफ्नो गति, सीप र सम्भावना प्रदर्शन गर्ने अवसर प्रदान गर्दै नेपालको ग्रासरुट क्रिकेटलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ।
अघिल्ला सिजनको सफलतासँगै ‘बिट द स्पिड’ ले नेपाली क्रिकेटमा प्रभाव पार्दै आएको छ। गत सिजनका विजेता हिक्मत महराले नगद १ लाख रुपैयाँसहित जस्ट क्रिकेट एकेडेमीमा तीन महिनाको प्रशिक्षण अवसर प्राप्त गरेका थिए। त्यसपछि उनी सुदूरपश्चिम रोयल्सबाट ‘आइकनिक प्लेयर’ का रूपमा छनोट भएका थिए भने नेपाल प्रिमियर लिगमा आफ्नो पहिलो खेलमै पहिलो विकेट लिँदै चर्चा बटुलेका थिए।
त्यस्तै किरण चन्दलाई निर्णायक ज्ञानेन्द्र मल्ल र कलाम अलीले ‘प्रोमिसिङ ट्यालेन्ट’ का रूपमा छनोट गरेका थिए। चन्दले ५० हजार रुपैयाँ नगदसहित जस्ट क्रिकेट एकेडेमीमा तीन महिनाको पूर्ण छात्रवृत्तिसहित प्रशिक्षण प्राप्त गरेका थिए र पछि काठमाडौं गोर्खाजको डेभलपमेन्ट स्क्वाडमा समावेश भएका थिए।
‘बिट द स्पिड’ सिजन-३ को सुरुवात बैशाख ४ गते जनकपुरबाट भइसकेको छ। यससँगै कार्यक्रमले देशका २३ सहर समेट्ने राष्ट्रव्यापी यात्रा सुरु गरेको छ।
कार्यक्रम तालिकाअनुसार बैशाख ४ गते जनकपुर, बैशाख ५ गते लहान र राजविराज, बैशाख ६ गते विराटनगर, बैशाख ७ गते दमक र बैशाख ८ गते इटहरीमा कार्यक्रम सम्पन्न भइसकेको छ।
अब बैशाख १० गते मलंगवा र गौर, बैशाख ११ गते सिमरा र वीरगञ्ज, बैशाख १२ गते हेटौँडा र चितवन, बैशाख १३ गते बुटवल बैशाख १४ गते भैरहवा, बैशाख १५ गते लमही र घोराहीमा कार्यक्रम सञ्चाचलन हुनेछ।
यस्तै बैशाख १६ गते नेपालगञ्ज, बैशाख १७ गते सुर्खेत, बैशाख १९ गते धनगढी, बैशाख २० गते महेन्द्रनगर, बैशाख २२ गते बैतडी (पहिलोपटक समावेश), बैशाख २४ गते पोखरा र बैशाख २६ गते काठमाडौंमा कार्यक्रम हुने तालिका छ।
प्रारम्भिक चरणपछि सबैभन्दा छिटो बलिङ गर्ने उत्कृष्ट १० खेलाडीलाई काठमाडौंमा हुने ग्रान्ड फाइनलका लागि छनोट गरिनेछ।
यस सिजनमा चर्चित क्रिकेट कमेन्टेटर एन्ड्र्यु लियोनार्डको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको छ। वर्ल्डलिंकका चिफ मार्केटिङ अफिस तेन्जिन छोग्यालका अनुसार लियोनार्डले प्रारम्भिक चरणका केही सहरमा उपस्थित भइ खेलाडीहरूसँग अन्तरक्रिया गर्नेछन् भने काठमाडौंमा हुने ग्रान्ड फाइनल पनि होस्ट गर्नेछन्।
यस वर्ष पनि प्रतियोगिताको निर्णायकमा ग्यानेन्द्र मल्ल र कलाम अली रहनेछन्। प्रतियोगितामा विजेतालाई १ लाख, उपविजेतालाई ५० हजार र तृतीयलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
यसका साथै विजेता र निर्णायकले छनोट गरेको ‘प्रोमिसिङ ट्यालेन्ट’ दुवैले जस्ट क्रिकेट एकेडेमी, बेङलोरमा तीन महिनाको पूर्ण छात्रवृत्तिसहित प्रशिक्षण अवसर प्राप्त गर्नेछन्, जसको सम्पूर्ण खर्च वर्ल्डलिंकले व्यहोर्नेछ।
‘बिट द स्पिड’ वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको एक प्रमुख ग्रासरुट क्रिकेट पहल हो जुन नेपालका तीव्र गतिका बलिङ प्रतिभाहरूको खोजी र विकासमा केन्द्रित छ। देशव्यापी पहुँच र अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण अवसरको संयोजनमार्फत यो अभियानले नेपाली क्रिकेटको दीर्घकालीन विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
