शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बैंकिङ कसुरमा ३६ लाख जरिवाना नतिरी फरार भएका दोषी पक्राउ

बुधबार, चैत ९ २०७८
बैंकिङ कसुरमा ३६ लाख जरिवाना नतिरी फरार भएका दोषी पक्राउ

काठमाडौं- बैंकिङ कसुरमा दोषी ठहर भई लाखौँ जरिवाना र कैद सजाय तोकिए पनि फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरेको छ।

उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३६ लाख जरिवाना र ७ दिन कैद हुने ठहरपछि फरार रहेका मकवानपुरको हेटौँडा घर भई काठमाडौंको क्षेत्रपाटी बस्ने ३८ वर्षका रगुन खड्केलाई पक्राउ गरिएको हो।

उनले पीडितलाई न्युरोडको महालक्ष्मी विकास बैंकको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए। उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएकामा चेकमार्फत भुक्तानी हुन नसकेको ठहर गर्दै अदालतले गत वर्ष उक्त जरिवाना र कैद सुनाएको थियो।

त्यसपछि फरार हुँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास गर्न परिचालित टोलीले आज काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरेको हो। उनलाई आजै फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।


प्रकाशित : बुधबार, चैत ९ २०७८१०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend