काठमाडौं- कामना सेवा विकास बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने प्रयासलाई निरन्तरता दिँदै नयाँ वर्ष २०८३ सालको अवसरमा वित्तीय साक्षरतासम्बन्धी कथासंग्रह तथा सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेको छ।
उक्त वित्तीय साक्षरतासम्बन्धी कथासंग्रह बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले अनावरण गरेका हुन्। बैंकले वित्तीय साक्षरता केवल सूचना नभइ व्यवहार परिवर्तन गर्ने प्रक्रिया भएको उल्लेख गर्दै कथा तथा भिडियो सामग्रीले त्यसलाई अझ प्रभावकारी रूपमा जनमानससम्म पुर्याउने विश्वास व्यक्त गरेको छ।
कथासंग्रहमा दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित वित्तीय निर्णय, बचतको महत्त्व, जिम्मेवार खर्च, बैंकिङ सेवा प्रयोग तथा आर्थिक योजना जस्ता विषयलाई सरल, रोचक र सन्देशमूलक कथाका माध्यमबाट प्रस्तुत गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार यो कथासंग्रह देशभरका विभिन्न विद्यालयमा वितरण गरिने छ जसले विद्यार्थीहरूमा प्रारम्भिक उमेरदेखि नै वित्तीय अनुशासन, बचत गर्ने बानी र जिम्मेवार खर्च गर्ने व्यवहार विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। साथै बैंकले आफ्ना ग्राहकलाई लक्ष्य गर्दै 'अल्फाग्रो सेभिङ्स अकाउन्ट' खोल्ने ग्राहकलाई प्रोत्साहनस्वरूप खुत्रुकेसँगै उक्त कथासंग्रहसमेत प्रदान गर्ने व्यवस्था मिलाएको छ।
अभियानको विशेष आकर्षण कथासंग्रहलाई भिडियो उत्पादनमार्फत डिजिटल रूपान्तरण गरिएको छ। यी भिडियोमा कथाका पात्रलाई दृश्यात्मक रूपमा जीवन्त बनाउँदै वित्तीय सन्देशलाई अझ प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ।
बैंकका अनुसार भिडियो सामग्रीले विशेषगरी बालबालिका, युवा तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आकर्षण गर्दै वित्तीय साक्षरतालाई मनोरञ्जनात्मक र सजिलै बुझ्न सकिने माध्यममा रूपान्तरण गर्नेछ।
कथासंग्रहसँग सम्बन्धित भिडियो सामग्री प्रत्येक हप्तामा दुई दिन बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने छ।
कथासंग्रहसँग सम्बन्धित भिडियो सामग्री प्रत्येक हप्तामा दुई दिन बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने छ।
बैंकले वित्तीय साक्षरता अभिवृद्धि आजको आवश्यकता भएको उल्लेख गर्दै यसप्रकारका कार्यक्रमलाई आगामी दिनमा अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। साथै यस अभियानमार्फत समुदायस्तरमै वित्तीय पहुँच विस्तार गर्दै जिम्मेवार बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको जनाएको छ।
