बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २७ २०८२
सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं- प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा भोलि चैत्र २७ देखि २९ गतेसम्म ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन हुने भएको छ। जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा शल्यक्रियालगायतका सेवा प्रदान गरिने बैंकले जनाएको छ। 

सुर्खेतमा सञ्चालन हुने उक्त शिविरबाट करिब ५० जना जलन पीडित लाभान्वित हुने बैंकको अपेक्षा छ। जटिल समस्या भएर शिविरमा आएका बिरामीलाई काठमाडौंको कीर्तिपुर अस्पतालमा रिफर गरी निःशुल्क उपचारको व्यवस्था मिलाइने बैंकले जनाएको छ। 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन हुन लागेको निःशुल्क जलन शिविर लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा पनि सञ्चालन गरिने बैंकले जनाएको छ। 

यसअघि फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको पहिलो शिविरमार्फत ६५ जना जलनका बिरामीले निःशुल्क उपचार पाएका थिए। जसमध्ये २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको थियो भने जटिल किसिमका १८ जना बिरामीलाई काठमाडौंको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको थियो। 

शिविरमा आगोले पोलेर शरीरको एक भाग अर्को भागसँग जोडिएको, हातका औँला टाँसिएको अवस्था भएकाले निःशुल्क उपचार पाउनेछन्। साथै जन्मँदै ओठ तालु (मुखभित्र जिब्रोभन्दा माथि) चिरिएका, जन्मँदै औँला जोडिएका, बढी भएका तथा चोटपटक लागेर समस्या भएका मानिसले पनि सरसल्लाह लिन सक्ने बैंकले जनाएको छ। 

जलनका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ। तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ। जलनका कारण पीडा भोगिरहेका व्यक्तिलाई उपचार गरी उनीहरूको जीवनमा सुधार ल्याउने प्रयासस्वरूप शिविर आयोजना गरिएको बैंकको भनाइ छ। 


प्रकाशित : शुक्रबार, चैत २७ २०८२१७:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend