काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।
निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा १७ रुपैयाँ, डिजेल र मट्टितेलमा २५ रुपैयाँ, एलपी ग्यासमा १ सय रुपैयाँ तथा हवाई इन्धन (आन्तरिक) मा ६ रुपैयाँले मूल्य बढाएको हो।
योसँगै काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर २ सय १९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर २ सय ७ रुपैयाँ कायम भएको छ। त्यस्तै एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १० रुपैयाँ र आधा सिलिन्डरको १ हजार ५ रुपैयाँ पुगेको छ।
चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैंठकले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो।
सरकारले कर घटाएपछि धेरैले इन्धनको मूल्य नबढ्ने अनुमान गरेका थिए। तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेकाले हरेक १५ दिनमा भारतबाट आउने नयाँ मूल्य बढेर आइरहेको छ। सोहीकारण निगमले पछिल्लो समय ठूलो रकम घाटा बेहोर्दै आएको छ।
पछिल्लो मूल्य समायोजन गर्दा पनि निगमलाई १५ दिनमै ७ अर्ब ८१ करोड रूपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ।