काठमाडौं- विश्वकै सबैभन्दा धनी अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले आईपीओ आउने अन्तिम तयारी चलिरहेको छ। मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले हालै १७ खर्ब ५० अर्ब डलर(१.७५ ट्रिलियन)को मूल्यांकनले विश्व वित्तीय बजारमा नयाँ तरंग पैदा गरेको छ।
उक्त मूल्यांकन सफल भएमा स्पेसएक्सले विश्वका प्रबुद्ध कम्पनीहरू मेटा र ब्रेकशायर हाथवेलाई मात्र उछिन्ने छैन, यो एप्पल, एनभिडिया र माइक्रोसफ्ट जस्ता ’ट्रिलियन डलर’ क्लबका सीमित सदस्यहरूको पङ्क्तिमा सोझै प्रवेश गर्ने रोयटर्सले गरेको विश्लेषणमा उल्लेख छ।
यो मूल्यांकनको मुख्य आधार कम्पनीको स्याटेलाइट इन्टरनेट सेवा ’स्टारलिंक’लाई मानिएको छ। विश्लेषकहरूका अनुसार स्टारलिंकका ग्राहकहरूको संख्या तीव्र गतिमा बढ्दै १ करोड पुग्नु र यसको सञ्चालन खर्च घट्दै जानुले कम्पनीलाई अत्यधिक नाफा कमाउने कम्पनीका रुपमा उदाएको छ।
सन् २०२६ सम्ममा स्पेसएक्सको कुल आम्दानीको करिब ८० प्रतिशत हिस्सा स्टारलिंकबाटै आउने प्रक्षेपण गरिएको छ। यसका साथै कम्पनीको रकेट प्रक्षेपण व्यवसायमा रहेको एकाधिकार, जसले गत वर्ष मात्र १ सय ६५ वटा सफल मिसन पूरा गरेको थियो। यसलाई स्पेसएक्सको १७ खर्ब ५० अर्ब डलर मूल्यांकनको अर्को बलियो पिलरका रुपमा लिइएको छ।
तर वाल स्ट्रिटका गणितीय सूत्रहरूले भने यो मूल्यांकनलाई निकै ’आक्रामक’ मानेका छन्। सामान्यतया उच्च वृद्धदर भएका प्रविधि कम्पनीहरूको मूल्यांकन उनीहरूको वार्षिक आम्दानीको १० देखि २० गुणासम्म हुने गर्छ।
यता स्पेसएक्सले आफ्नो अनुमानित आम्दानीको तुलनामा ५६ गुणा बढी मूल्यांकन माग गरिरहेको छ। त्यस्तै कम्पनीको ऋण र ब्याजपछिको नाफालाई हेर्ने हो भने यो १०९ गुणा बढी मूल्यांकन देखिन्छ। यो तथ्यांकले के देखाउँछ भने लगानीकर्ताहरूले हालको मुनाफामा भन्दा पनि मस्कको भविष्यको ’भिजन’मा बढी विश्वास गरिरहेका छन्। टेस्ला इंकले बारे एलन मस्कको भिजन र कम्पनीले प्राप्त गरेको सफालताबाट पनि लगानीकर्ताहरुमा उर्जा थपेको धेरैको बुझाइ छ।
मस्कको योजना केवल रकेट उडाउनुमा मात्र सीमित देखिँदैन। उनले स्पेसएक्सलाई आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप एक्सएआईसँग जोडेर एउटा शक्तिशाली प्रविधि संयन्त्र बनाउन खोजेका छन्। यसका साथै पूर्णरूपमा पुनः प्रयोग गर्न मिल्ने ’स्टारसिप’ रकेटको सफल व्यावसायिक सञ्चालनले अन्तरिक्ष यात्राको लागतलाई अहिलेको तुलनामा सयौँ गुणा घटाउने अपेक्षा गरिएको छ।
यही सम्भावनालाई देखेर नै स्पेसएक्सको १७ खर्ब ५० अर्ब डलर मूल्यांकन गरेर ७५ अर्ब डलर आईपीओमार्फट रकम उठाउने लक्ष्य राखिएको यस ऐतिहासिक आईपीओप्रति ठूला लगानीकर्ताहरू आकर्षित भएको देखिन्छ। मस्कले केही समयअघिमात्र स्पेसएक्स र एक्सएआईलाई मर्ज गराएका थिए।
स्पेसएक्सले यसपटक ३० प्रतिशत सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याउने साहसिक कदम चालेको छ। यो अमेरिकी पुँजी बजारको इतिहासमै सबैभन्दा ठूलो मध्येको एक हुनेछ। केही आलोचकहरूले यसलाई ’मस्क प्रिमियम’ अर्थात् मस्कको नाममा मात्रै जोडिएको बढी मूल्यांकन भनेर टिप्पणी गरेका छन्। यसकाबीच अन्तरिक्ष अर्थतन्त्रमा स्पेसएक्सको बढ्दो प्रभुत्वले यो असम्भव गणितलाई पनि यथार्थमा बदल्न सक्ने संकेतका रुपमा धेरैले विश्लेषण गरेका छन्।
स्पेसएक्सको यो १७ खर्ब ५० खर्ब डलरको मूल्यांकन केवल कागजको अंक मात्र नभइ मानव जातिलाई ‘बहु-ग्रहबासी’ बनाउने मस्कको दीर्घकालीन अभियानमा विश्वका लगानीकर्ताहरूले दिएको ‘ब्ल्यांक चेक’ जस्तै देखिएको छ।