काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभाको केन्द्रिय कार्यकारणी समितिको निर्वाचन स्थगित भएको छ।
निर्वाचन समितिको कार्यालयले जारी गरेको सूचनामा अनुसार २०८२ चैत १२ गते प्रकाशित निर्वाचन कार्यक्रम उच्च अदालत पाटन, ललितपुरको आदेशका कारण स्थगित गरिएको हो।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै तत्कालका लागि महासंघको निर्वाचन रोकिएको हो।
अदालतले अन्तरिम आदेश जारी गर्दै भनेको छ, 'पूर्व जारी आदेशअनुसार निर्णय नहुन्जेल विपक्षी संस्थाको साधारण सभा नगर्नू।'
निर्वाचन समितिले अदालतको आदेशको सम्मान गर्दै अर्को सूचना नभएसम्मका लागि निर्वाचन प्रक्रिया रोकिएको जानकारी दिएको छ।
बिहीबार उच्च अदालतका न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले निवेदकहरुको माग पूर्णरूपमा सम्बोधन नभइ साधारण सभा हुँदा उनीहरूलाई असर पुग्ने भएकाले सोको निर्णय नभएसम्म साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको हो।
ढुवानी व्यवसायी महासंघले २०८१ चैत २८ मा सम्पन्न एफएनसीसीआईको ५९ औँ वार्षिक साधारण सभामा सदस्यको हैसियतले उपस्थित रहेकामा अहिले आफूलाई समावेश नगरी सदस्यतासम्बन्धी निर्णय नगरी साधारण सभा गर्न लागिएको भन्दै रिट दायर गरेको थियो।