बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

कालीमाटी फलफूल तथा तरकारी बजार अनुगमनमा गइन् कृषिमन्त्री

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २६ २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार अनुगमनमा गइन् कृषिमन्त्री

कालीमाटी बजारअन्तर्गत थोक बजारका ६१०, ६४५, ६९३, ७०१, ७०४, ७११, ७१८ नम्बरलगायतका पसलमा निरीक्षण गर्दा इजाजत लिएका व्यवसायी स्वयं उपस्थित नभएको पाइएको छ।

काठमाडौं- कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छिन्।

बजार व्यवस्थापनमा कमजोरी भएकोबारे गुनासो आएपछि मन्त्री चौधरीले आज कालीमाटी पुगेर तरकारी बजारको अनुगमन गरेकी हुन्।

बजार अनुगमनका क्रममा इजाजतपत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको पाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।

साथै विषादी परीक्षण नभइ तरकारी उपभोक्तासम्म पुग्ने गरेको, बिलविजकमा अनियमितता, इजाजतपत्र नवीकरण नगरेका पसल सञ्चालनमा रहेको जस्ता समस्या भेटिएका छन्।

मन्त्री चौधरीले कालीमाटी बजारअन्तर्गत थोक बजारका ६१०, ६४५, ६९३, ७०१, ७०४, ७११, ७१८ नम्बरलगायतका पसलमा निरीक्षण गर्दा इजाजत लिएका व्यवसायी स्वयं उपस्थित नभएको पाइएको छ। कतिपय स्थानमा एकै दर्तामा दुइदेखि तीन जनाले व्यवसाय सञ्चालन गरेको भेटिएको छ।

त्यस्तै माछा पसलमा पनि उस्तै प्रवृत्ति देखिएको मन्त्री चौधरीले २४, १३ ‘ख’, ११ ‘क’, १०, ११, १० ‘ख’ नम्बरका माछा पसलको निरीक्षण गरे। निरीक्षणका क्रममा चार व्यापारीले आपूर्तिकर्ताबाट ल्याइएको माछा सोही बजारमा थोक रूपमा बिक्री गर्ने क्रममा बिलविजकमा अनियमितता प्रयोग गरेको पाइएको छ।

मन्त्री चौधरीले बजार व्यवस्थापनमा देखिएका अनियमितता तुरुन्त सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन्।

साथै उपभोक्ताको स्वास्थ्य र अधिकारमा असर पर्ने गतिविधि कडाइका साथ नियन्त्रण गरिने मन्त्री चौधरीको सचिवालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , चैत २६ २०८२१६:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend