बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

सुन तस्करी गरेको आरोपमा कृष्णबहादुर महरासहित भन्सारका अधिकारीहरूविरुद्ध मुद्दा

बिहीबार , चैत २६ २०८२
सुन तस्करी गरेको आरोपमा कृष्णबहादुर महरासहित भन्सारका अधिकारीहरूविरुद्ध मुद्दा

पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको आरोप अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ। उनीहरूविरुद्ध  ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको हो।

काठमाडौं- विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गरेको आरोपसहित पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महरासहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन कर्मचारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको अभियोगमा महरासहित  त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्ति प्रसादश्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिका प्रसाद खनाल, भन्सार अधिकृत रमेश कुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नायव सुब्बा सुवर्णाप्रभा केसी, नायब सुब्बा भुवनराज
घिमिरे, नायब सुब्बा उमेश प्रसाद कोइराला,नायब सुब्बा रेवन्त खड्का र नायब सुब्बा मधुसुदन पोखेलविरूद्ध मुद्दा दायर भएको छ। 

यस्तै राहुल भन्ने रेशम महरा, निर्मल कुमार विक, लोकेन्द्र कुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेद प्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सङ र दावोजिङ वाङ, बेल्जियम नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगले साथै डेक्स्टर ट्राभल्स एन्ड टुर्स प्रालिविरुद्ध मुद्दा दायर भएको छ।

चिनियाँ गिरोहले २०७९ पुसमा भेपको आवरणमा सुन भित्र्याउन खोज्दा भन्सारले पक्राउ गरेको थियो। त्यसको अनुसन्धान गर्दै जाँदा महरा र उनका छोरा राहुल लगायतको संलग्नता भेटिएको थियो। चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको आरोप अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ।

उनीहरूविरुद्ध  ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको हो।

८४८०.५१५७०४ ग्राम सुनको हुन आउने रकमबराबरको सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको तथ्य पुष्टि भएको देखिँदा उक्त कार्यमा संलग्नहरूउपर विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ। 


प्रकाशित : बिहीबार , चैत २६ २०८२१६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend