काठमाडौं- पार्टी अनुशासनविपरीत कार्य गरेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहलाई पदबाट हटाउन प्रधानमन्त्री बालेन शाहसमक्ष सिफारिस गरेका छन्।
रास्वपाको केन्द्रीय अनुशासन आयोगले मन्त्री साहले पार्टीको अनुशासन र आचारसंहिताविपरीत आफ्नी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यका रुपमा पठाएको निष्कर्षसहित कारबाहीको सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई औपचारिक आग्रह गरेका हुन्।
लामिछानेले पठाएको सिफारिसपत्रमा मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गर्दै लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्ड सदस्यमा आफ्नी श्रीमतीलाई नियमित गराएको विषय केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट पुष्टि भएको उल्लेख गरेका छन्। यस्तो कार्यले पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा आँच पुग्ने भन्दै आवश्यक कारबाही अपरिहार्य भएको उनले बताएका छन्।
रास्वपाको पार्टी विधानको धारा २५ (४) (क) अनुसार सभापतिलाई पार्टीको आदर्श र मर्यादा जोगाउने जिम्मेवारी दिइएको छ भने धारा ६९ ले पदको दुरुपयोग भएको अवस्थामा ‘राइट टु रिकल’ मार्फत जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने व्यवस्था गरेको छ। सोही प्रावधानअनुसार कारबाही प्रक्रिया अघि बढाइएको लामिछानेले स्पष्ट पारेका छन्।
प्रकरणमा समन्वय र निगरानीमा गम्भीरता नदेखिएको उल्लेख गर्दै लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन्।