बैतडी- जिल्लामा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन्। स्वास्थ्य बीमा सम्पर्क कार्यालय बैतडीका प्रमुख अनिलचन्द्र जोशीले हालसम्म यहाँका १६ हजार ४ सय ४१ परिवारका ६६ हजार २ सय ४७ जना बीमा कार्यक्रममा आबद्ध भएका बताए।
तीमध्ये जेष्ठ नागरिक, क वर्गको अपांगता भएका व्यक्ति, एचआईभी संक्रमित, ‘एमडीआरटी’ क्षयरोग भएका, कुष्ठरोग लागेका व्यक्तिहरूको निशुल्क स्वास्थ्य बीमा गर्ने गरिएको उनले जानकारी दिए। यस्तै महिला स्वास्थ्य स्वयंसेविकाहरूको बीमा गर्दा ‘प्रिमियम’ को आधा रकम सरकारले तिर्ने गरेको जोशीले बताए।
स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निशुल्क रूपमा उपचार सेवा पाउने गरेका छन्। बैतडीमा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली बीमा सेवा पाउने सूचीकृत स्वास्थ्य संस्थाका रूपमा रहेका छन्। ती संस्थामा उपचार हुन नसकेमा ‘रेफर’ गरिएका अन्य अस्पतालमा पनि निशुल्क उपचार हुने गरेको बीमा सम्पर्क कार्यालय प्रमुख जोशीले बताए।
स्वास्थ्य बीमामा आबद्ध हुन चाहने नागरिकले ५ जनासम्म परिवार भएका सदस्यलाई वार्षिक ३ हजार ५ सय रुपैयाँ ‘प्रिमियम’ तिर्नुपर्ने र सोवाफत १ लाख रुपैयाँबराबरको उपचार निःशुल्क पाइने गरेको छ। ५ जनाभन्दा बढी सदस्य भएको परिवारले प्रतिसदस्य ७ सय थप प्रिमियम बुझाउनुपर्ने र उनीहरूले थप २० हजार रुपैयाँका दरले उपचार सुविधा पाउने गरेका छन्। राससए।