काठमाडौं- अवैधरूपमा आर्जन भएको धन नेपालीहरूले स्वीस बैंकमा राखे/नराखेको विषयको अनुसन्धानमा सहयोग गर्न नेपालस्थित स्वीट्जरल्याण्डको राजदूतावासलाई गृहमन्त्री सुधन गुरुङले आग्रह गरेका छन्।
गृहमन्त्री गुरुङले राजदूत डा. ड्यानियल मेउलीसँग भेट गरी आवश्यक सहकार्यको अनुरोध गरेका हुन्। गृहमन्त्री गुरुङले अवैध सम्पत्तिसम्बन्धी अनुसन्धानमा पारदर्शिता र दुवै देशबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिए।
नेपालमा अवैधरूपमा सञ्चित धन स्वीस बैंकमा रहेको चर्चा विगतदेखि हुँदै आइरहेको छ। यस सम्बन्धमा अनुसन्धान र तथ्यगत जानकारी संकलन गर्न दुवै पक्षबीच सहकार्य आवश्यक रहेको गृहमन्त्री गुरुङले बताए।
राजदूत ड्यानियलले गृहमन्त्रीसँगको औपचारिक भेटमा स्वीट्जरल्याण्ड-नेपालबीचको कुटनीतिक सम्बन्धका ७० वर्षको उत्सवसम्बन्धी विषयमा छलफल गरेकी हुन्। भेटमा विकास सहयोग, विपद् व्यवस्थापन र सुशासनजस्ता विषयहरूमा समेत विचारविमर्श भएको जनाइएको छ।