काठमाडौं- नेपाल राष्ट्र बैंक ले विदेशी विनिमय तथा सम्पत्ति शुद्धीकरण निवारण (एएमएल/सीएफटी) प्रणालीलाई थप कडा बनाउँदै बैंकिङ कारोबारमा नयाँ व्यवस्था लागू गरेको छ। एकीकृत परिपत्र-२०८१ संशोधन गर्दै केन्द्रीय बैंकले शंकास्पद कारोबार नियन्त्रणमा कडाइसँगै केही प्रक्रियामा सहजीकरण समेत गरेको हो।
नयाँ व्यवस्थाअनुसार अब विदेशबाट बैंक खातामा आएको रकम फिर्ता पठाउनुपर्ने अवस्थामा बैंकहरूले थप सावधानी अपनाउनुपर्नेछ। यदि त्यस्तो रकम ‘अवैधानिक, आपराधिक वा शंकास्पद’ देखिएमा बैंकले सो रकम फिर्ता पठाउन नपाउने व्यवस्था गरिएको छ। राष्ट्र बैंकका अनुसार यसले अवैध धन ओसारपसार नियन्त्रण गर्दै सम्पत्ति शुद्धीकरण विरुद्धको अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनमा सहयोग पुर्याउनेछ।
त्यसैगरी, व्यक्तिगत विदेशी मुद्रा खातामा नगद जम्मा गर्ने प्रक्रियामा लचकता दिइएको छ। अब नेपाली नागरिकले ५ हजार अमेरिकी डलरसम्म नगद जम्मा गर्न चाहेमा स्रोत खुल्ने कागजात अपुग भए पनि ‘स्वघोषणा’का आधारमा बैंकले उक्त रकम स्वीकार गर्न सक्नेछन्।
विदेश यात्रा गर्ने नेपालीका लागि पनि सहुलियत थपिएको छ। कुनै देशमा भिसा प्रयोजनका लागि फिर्ता हुने धरौटी राख्नुपर्ने अवस्थामा बैंकहरूले अब ५ हजार अमेरिकी डलरसम्मको ‘इलेक्ट्रोनिक कार्ड’ जारी गर्न सक्नेछन्, जसले आवश्यक वित्तीय ग्यारेन्टी जुटाउन सहज बनाउने अपेक्षा गरिएको छ।
यस्तै, भारतीय रुपैयाँ खातामा प्राप्त रकम नेपाली रुपैयाँमा साट्ने समयसीमा पनि बढाइएको छ। यसअघि ७ दिनभित्र साट्नुपर्ने व्यवस्था रहेकामा अब १५ कार्यदिनसम्म समय दिइएको छ।