काठमाडौं- विश्व तेल बजारमा मंगलबार ठूलो उतारचढाव देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग दुई हप्ताका लागि युद्धविराममा सहमति भएको घोषणा गरेपछि तेलको मूल्य १०० डलर प्रति ब्यारेलभन्दा तल झरेको हो।
ट्रम्पले हर्मुज पुनः खुल्ने र सुरक्षित ढंगले सञ्चालन हुने सहमतिमा पुगिएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए। 'स्टेट अफ हर्मुज' विश्व तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा ढुवानी गर्ने अत्यन्तै महत्त्वपूर्ण मार्ग हो।
न्यूयोर्क बजारमा वेस्ट टेक्सास इन्टरमिडिएट को मे महिनाको फ्युचर्स कारोबार मंगलबार दिउँसो ११२.९५ डलर प्रति ब्यारेलमा बन्द भएको थियो। यो फेब्रुअरी अन्त्यको तुलनामा झन्डै ६९ प्रतिशतले उच्च स्तर हो। तर ट्रम्पको घोषणा पछि साँझतिर मूल्य १० डलरभन्दा बढी घट्दै १०० डलरभन्दा तल झरेको छ।
ऊर्जा बजार विश्लेषकहरूले भनेका छन् कि युद्धविरामको घोषणाले बजारमा तत्काल मनोवैज्ञानिक प्रभाव पारेको छ। यदि सहमति कार्यान्वयनमा आयो भने तेल मूल्यमा थप स्थिरता आउन सक्ने छ। तर सहमति दीर्घकालीन रुपमा कायम रहन्छ कि रहँदैन भन्ने विषयले भविष्यको बजारको दिशा निर्धारण गर्नेछ।
विशेषज्ञहरूले हर्मुज मार्गको खुलापनले तेल आपूर्तिमा अवरोध कम गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा ठूलो राहत मिल्ने पनि बताएका छन्। पछिल्ला केही हप्ताहरूमा मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले तेलको मूल्यलाई उच्च बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।