बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

मुस्ताङमा भदौयता लेक लागेर चार विदेशीसहित सातजनाको मृत्यु

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २४ २०८२
मुस्ताङमा भदौयता लेक लागेर चार विदेशीसहित सातजनाको मृत्यु

मृत्यु हुनेमा भारतका तीन पुरुष र मेक्सिकोका एक गरी चार पर्यटक रहेका छन्। यसरी मृत्यु हुनेमा ४१ वष उमेर समूहदेखि ७५ वर्ष उमेर समूहका रहेका छन्।

मुस्ताङ- हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक लागेर चार विदेशी नागरिकसहित सात जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको गत भदौ २२ देखि यही चैत २० गतेसम्म यहाँ भ्रमणमा आएका पर्यटकमध्ये छ पुरुषसहित एक महिला पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतका अनुसार मृत्यु हुनेमा भारतका तीन पुरुष र मेक्सिकोका एक गरी चार पर्यटक रहेका छन्। यसरी मृत्यु हुनेमा ४१ वष उमेर समूहदेखि ७५ वर्ष उमेर समूहका रहेका छन्।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आवको २२ भदौमा मुक्तिनाथमा लेक लागेर वेलगार्व, उदारखुर्द, कर्नाटक भारतका ७१ वर्षीय आन्नद माधवाराओ देशपाण्डेको मृत्यु भएको थियो। गत असोज २४ गते महालक्ष्मी नगरपालिका-४ इमाडोल ललितपुरका ७५ वर्षीय माधवप्रसाद शर्मा उप्रेतीको घरपझोङ-४ जोमसोममा लेक लागेर मृत्यु भएको थियो।

यसैगरी कात्तिक ९ गते सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-८ घर भएका ५० वर्षीय जगतबहादुर तिमिल्सिनाको घरपझोङ-२ मार्फामा लेक लागेर मृत्यु भएको प्रहरी निरीक्षक महतले जानकारी दिए।

यस्तै, कात्तिक २२ गते ६१ वर्षीय भारतीय पर्यटकको घरपझोङ-३ स्थित एक होटलमा, पुस १२ गते ७४ वर्षीय भारतीय पर्यटक चन्द्रकान्त श्रपत तम्बोकरको मुक्तिनाथ रानीपौवामा लेक लागेर मृत्यु भएको थियो।

यसैगरी, यही चैत १७ गते मेक्सिकोका ६७ वर्षीय फेडेरिको लोपेज क्याम्बाको थासाङ गाउँपालिका-१ टुकुचेस्थित पक्की पुल नजिक लेक लागेर मृत्यु भएको थियो भने चैत २० गते ठोरी गाउँपालिका-४ पर्साकी ४१ वर्षीय सरिता बुढाथोकीको मुक्तिनाथ मन्दिरमा लेक लागेर मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ। रासस


प्रकाशित : मंगलबार, चैत २४ २०८२१८:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend