काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेतृत्वलाई स्ट्रेट अफ हर्मुज खोल्न दिएको समय आज सकिँदैछ। ट्रम्पले समयसीमा नमान्ने खण्डमा इरानका सबै पावर प्लान्ट र पुलहरू ध्वस्त पार्ने धम्की दिँदै व्यापक सैन्य कारबाहीको संकेत गरेका छन्।
ट्रम्पले चीन, पाकिस्तान, टर्की र इजिप्टको मध्यस्थतामा भएको शान्ति प्रस्ताव अस्वीकार भएपछि इरानलाई 'एक रातमै ध्वस्त पारेर स्टोन एजमा फर्काइदिने' चेतावनी दिएका छन्।
ट्रम्पले हर्मुज जलमार्ग पूर्णरूपमा खोल्न नसकेको खण्डमा व्यापक प्रतिक्रिया दिने बताएका छन्। यसअन्तर्गत इरानी नागरिककेन्द्रित रहेका पूर्वाधारमाथि पनि निशाना बनाइने चेतावनी दिइएको छ। अमेरिकी नेताले विवादास्पद ट्वीट र भाषणहरूमा इरानी नेतृत्वलाई 'समय अवधि सकिएपछि अन्त्य गरिने' भनेका छन् ।
इरानी नेतृत्वले कुनै पनि क्षणिक युद्धविराम प्रस्ताव स्वीकार नगरेको स्पष्ट जाहेर गर्दै आएको छ। तेहरानले युद्धलाई पूर्णरूपमै अन्त्य गर्न, प्रतिबन्ध हटाउन र आफ्नो सीमामा कुनै पनि नयाँ हमला नहुने पक्का नगरिँदासम्म वार्ता नहुने प्रष्ट पार्दै आएको छ।
ट्रम्पले यसअघि निरन्तर चेतावनी दिँदै यदि हर्मुज खुल्न नसक्ने हो भने पूरा इरानी पूर्वाधार नष्ट गरिने जनाएका थिए। उनले ब्रिज, पावर प्लान्ट र अन्य इन्धन संरचनामाथि आक्रमण गर्ने सम्भावनासमेत औँल्याएका छन्। अमेरिकी पक्षले यसलाई रणनीतिक आवश्यक कदम भन्दै सार्वजनिक गरेको छ।
ट्रम्पको धम्की युद्ध अपराधको सम्भावनासमेत भएको भन्दै आलोचना भइरहेका छन्। नागरिक पूर्वाधारलक्षित कुनै पनि आक्रमणले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हुने चेतावनी दिइएका छन्।