बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

विदेशको ज्ञान, स्वदेशमा कमाइ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २४ २०८२
विदेशको ज्ञान, स्वदेशमा कमाइ

दुबईमा मासिक १ लाख रुपैयाँ कमाउने गुरुङ यहाँ तीन जनालाई रोजगारी दिएर ८० हजार रुपैयाँ हाराहारी कमाइ हुन थालेपछि विदेश जाने योजना स्थगन गरेर यहीँ घरबास सञ्चालन गरेको बताउँछन्।

चितवन- दश वर्ष दुबईमा मजदुरी गरेर फर्किएका टीकाबहादुर गुरुङले मायाटारमा घरबास सुरु गरे पछि विदेश फर्कने सोच बदलेका छन्। इच्छाकामना गाउँपालिका-३ मायाटारमा बाटो छेउमा आफै बसेको घरबाट उनले घरबास सुरु गरेका हुन्।

विसं १९७८ मा बनेको पुरानो सैलीको घरमा बाटो हिँड्नेहरूलाई बास दिने चलन थियो। यही बाटो हुँदै उपरदांगढी, शक्तिखोर, हुग्दी खोला, इच्छाकामना मन्दिर, फिस्लीङ्लगायतका ठाउँमा हिडेर जानेहरू रातमा यही बास बस्ने गर्थे। गुरुङले भने, 'बाटोको घर भएकाले यही बाटो हुँदै हिँडडुल गर्नेहरूको बस्ने थलो हो यो। हामीले पहिलादेखि नै खान खान दिन्थ्यौँ, मान्छे सुताउँथ्यौँ।'

दश वर्षको वैदेशिक रोजगारपछि फर्कनुभएका गुरुङले चार वर्षअघि यो घरलाई मर्मतसम्भार गरेर घरबासका लागि कोठा बनाए। दुबईमा होटलमा काम गरेको अनुभव लिएका उनले फेरि फर्किएर जानुभन्दा यही केही गर्ने सोच बनाए। दुबईमा मासिक १ लाख रुपैयाँ कमाउने गुरुङ यहाँ तीन जनालाई रोजगारी दिएर ८० हजार रुपैयाँ हाराहारी कमाइ हुन थालेपछि विदेश जाने योजना स्थगन गरेर यहीँ घरबास सञ्चालन गरेको बताउँछन्।

साथीभाइको सुझावलाई मनन गर्दै उनले आफ्नो पुरानो घरमा घरबास बनाए। उनले भने, 'यही घरबाट सुरु गरेको पहिलो पिँढीमा दुईवटा कोठा र पछि दुईवटा गरेर चारवटा कोठा तयार भयो।' यही घरमा उनीहरूको परिवार बस्थ्यो।

जिल्लाको पहाडी भूभागमा घरबास बने पछि त्यहाँ जानेहरूको चहलपहल बढ्न थाल्यो। गर्मीको मौसममा जानेहरू बढी हुन थाले। बिहानै घाम लाग्ने भएकाले जाडो महिनामा पनि रात बिताउन जानेहरू बढ्न थालेपछि आफूले घरबास विस्तार गरेको उनी बताउँछन्। अहिले घरबाहिर पनि कोठा बनाएका छन्। एघा वटा कोठा छन्। तीमध्ये चारवटामा सँगै शौचालय पनि छ।

उनले भने, 'पाहुनाको मागअनुसार विस्तार गर्दै छौँ।' हिजो मायाटार सुगम जिल्लामा भएर पनि कर्णालीजस्तो रहेको भन्दै उनले बाटो, बत्ती सबै भएपछि मायाटार पर्यटकीय गन्तव्य बन्न सकेको बताए। दुई वर्षयता मायाटारमा बिजुली बत्ती पुगेको छ।

त्यसअघि पाहुनालाई टुकी र सोलारको उज्यालोमा राख्ने गरेको उनी बताउँछन्। मायाटार चिनाउन चितवनका पत्रकारको भूमिका रहेको भन्दै उनले भने, 'मायाटार मायाटार बन्नुमा पत्रकारको ठूलो हात छ। समाचारकै कारण यहाँ बिजुली आयो र घुम्ने ठाउँ हो भन्ने प्रचार भयो।'

मायाटार घुम्न आउनेका लागि यहाँको रमणीय वातावरणसँगै नजिकै रहेको बालगौरी पाथीभरा मन्दिर प्रमुख गन्तव्य हो। सेतो पहरा गुफा यहाँबाट १५ मिनेटको दूरीमा छ। तीन किलोमिटर पर पर्यटकीय गन्तव्य रिग्दी खोला छ। जहाँ चिसो पानीमा नुहाउन र असला माछा पाइन्छ। त्यस्तै उपरदांगढी यहाँबाट नजिकै पर्दछ। प्रचार हुँदै गएपछि पाहुनाको चाप हुन थालेको छ।

एक रातमा ४० जनासम्म राख्ने क्षमता आफूसँग रहेको भन्दै उनले अहिले वरपर अरूले पनि घरबास बनाउन थालेको बताए। बिदाको दिनमा पहिलेनै फोनमार्फत बुकिङ हुने गरेको उनी बताउँछन्। आफूले स्थानीय उत्पादित खानेकुरा पाहुनालाई खुवाउने गरेको गुरुङले बताए। त्यही उत्पादन भएको फर्सी, स्कुस, निगुरो, लोकल कुखुरा, बोका, खसीजस्ता स्थानीय उत्पादनमा पाहुना रमाउने गर्दछन्।

चितवनको तराई क्षेत्रमा अत्यधिक गर्मी हुँदा पनि त्यहाँ सिरक ओढेर सुत्नुपर्छ। यहाँ चितवनसहित काठमाडौं, मकवानपुर, पर्सा, नवलपरासी, कास्कीलगायतका धेरै जिल्लाबाट आन्तरिक पर्यटक घुम्न आउने गर्छन्। यो समुद्री सतहबाट करिब ३ हजार ५०० मिटर उचाइमा छ।

भरतपुरबाट एक घण्टा ३० मिनेट हाराहारीको यात्रामा यहाँ पुग्न सकिन्छ। शक्तिखोर हुँदै त्यहाँ पुग्ने सडक कालोपत्रे छ। यही सडक हुँदै पृथ्वी राजमार्गको धादिङको हुग्दी खोला, धादिङ र चितवनको सिमानामा पर्ने मौवा खोला र चितवनको फिस्लिङमा पुग्न सकिन्छ। राजमार्गतर्फबाट पनि त्यति नै समयमा मायाटार आउन सकिन्छ। रासस


प्रकाशित : मंगलबार, चैत २४ २०८२१२:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend