काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत रहने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक त्रैमासिक राष्ट्रिय लेखा तथ्यांकअनुसार कात्तिकदेखि पुससम्मको अवधिमा आधारभूत मूल्यमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उक्त दरले बढ्ने प्रक्षेपण गरिएको हो।
यसअघि चालु आवको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.०२ प्रतिशतमा सीमित रहेको थियो। दोस्रो त्रैमासमा भने वृद्धि केही सुधारिएको देखिए पनि अर्थतन्त्र अझै पूर्ण रूपमा गतिशील बन्न नसकेको संकेत तथ्यांकले दिएको छ।
कार्यालयका अनुसार विद्युत उत्पादन तथा वितरण, बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलन र कर्जा प्रवाह, निर्जीवन बीमा प्रिमियम, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी उत्पादन, व्यापार सेवा तथा पर्यटन आगमनमा देखिएको विस्तारले समग्र अर्थतन्त्रलाई टेवा दिएको छ। प्रस्तुत गरिएका १८ वटै औद्योगिक वर्गीकरणमध्ये अधिकांश क्षेत्रमा सकारात्मक वृद्धि देखिएको अनुमान गरिएको छ, जसले आर्थिक गतिविधिमा क्रमिक सुधार भइरहेको संकेत गर्दछ।
यद्यपि निर्माण सामग्रीको आयातमा आएको कमी, धान उत्पादनमा गिरावट तथा केही वस्तुको घरेलु उत्पादनमा देखिएको संकुचनले समग्र वृद्धिदरलाई अपेक्षाकृत मध्यम बनाएको कार्यालयले जनाएको छ। विशेषगरी कृषि र निर्माण क्षेत्रको सुस्तताले उच्च वृद्धि हासिल गर्न चुनौती थपिएको देखिन्छ।
मौसमी प्रभाव समायोजित तथ्यांकअनुसार चालु आवको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन २.०४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान गरिएको छ।
त्यस्तै, १८ औद्योगिक क्षेत्रमध्ये १६ क्षेत्रमा वृद्धि हुँदा दुई क्षेत्रमा सामान्य संकुचन देखिएको छ। यी मिश्रित प्रभावका बाबजुद समग्र अर्थतन्त्र मध्यम गतिमा विस्तार भएको निष्कर्ष कार्यालयले निकालेको छ।
विश्लेषकहरूका अनुसार सेवा तथा वित्तीय क्षेत्रको सुधारले अर्थतन्त्रलाई टेवा दिइरहे पनि उत्पादनमुखी क्षेत्र सुदृढ नभएसम्म दिगो र उच्च आर्थिक वृद्धिदर हासिल गर्न चुनौती कायमै रहनेछ।