बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

हामी खुला बजार अर्थनीति मान्छौँ, त्यो भनेको छाडा अर्थतन्त्र होइन : अर्थमन्त्री

'सेयर बजारमा त्रास फैलाउने काम भइरहेको छ तर सरकारले कुनै धरपकड अभियान चलाएको होइन'

सोमबार, चैत २३ २०८२
हामी खुला बजार अर्थनीति मान्छौँ, त्यो भनेको छाडा अर्थतन्त्र होइन : अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरणलगायतका वित्तीय अपराधमा भएका काम कारबाही वर्षौँदेखि भएका अनुसन्धान र अकाट्य प्रमाणका आधारमा अघि बढेका केसहरूमा आधारित भएको बताएका छन्। 

'ह्वाइटकल क्राइमलाई आर्थिक जरिवाना नै गर्ने ध्येय हो। संस्था वा व्यक्ति छानेर दु:ख दिने हाम्रो कुनै नियत छैन। हामी खुला बजार अर्थनीति मान्छौँ। त्यो भनेको छाडा अर्थतन्त्र होइन' उनले भने। 

साथै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु पहिलो प्राथमिकता रहेको उनको भनाइ छ। 'ग्रे लिस्टले अन्तर्राष्ट्रिय बदनामी भएको छ। लगानीको वातावरणमा नकारात्मक असर पार्छ। ग्रे लिष्टबाट बाहिर ल्याउने सवालमा कागमजमा मात्रै कुरा गर्ने बाहिर नल्याउने भन्ने परेको छ। हामी अहिले लागू पनि गर्ने चरणमा प्रवेस गरेका हौँ' उनले भने।

'न्याय निरूपणको काम अदालतबाट हुने हो। कसैलाई लक्षित गरेर कारबाही गर्ने होइन, कानूनअनुसार अघि बढाउने मात्र हो। अपराधबाट कसैलाई छुट दिने होइन। तर निजी क्षेत्रलाई धरपकड गर्ने होइन' उनले भने।

साथै उनले सेयर बजारमा त्रास फैलाउने काम भइरहेको तर सरकारले कुनै धरपकड अभियान नचलाएको बताएका छन्। 

नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा अर्थमन्त्री वाग्लेले साना लगानीकर्तालाई आतंकित पार्ने काम भएको देखिएको र त्यस्तो काम उचित नभएको बताएका छन्। 

'सरकारले साना लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य राखेको छैन। सेयर बजार नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी छ। पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, कसले किन्यो/बेच्यो भन्ने ट्र्याक गर्न सकिने भएकाले यो प्रणाली विश्वसनीय छ। सेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमूना क्षेत्र को रूपमा लिएको छ। प्रधानमन्त्रीले पनि अन्य क्षेत्रमा पनि स्टक मार्केटको जस्तो डिजिटलाइजेसन गर्न खोज्नु भएको छ' उनले भने।

स्टक मार्केटमा आएर सम्पत्ति कहाँबाट ल्यायौ? भनेर सोध्ने अवस्था नभएको र सरकारले धरपकड गर्ने नीति नलिएको उनले बताए। 

'यदि कसैले, इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन, अन्य अनैतिक काम गरेको छ भने विद्यमान कानूनअनुसारमात्र कारबाही हुन्छ। प्यानिक हुन आवश्‍यक छैन' उनले भने।

आगामी दिनहरूमा सेयर बजार सुधारका लागि पनि काम हुने उनले बताए। साथै नेप्से पुनर्संरचना प्रतिवेदन अध्ययन गरेर सुधार अघि बढाइने उनको भनाइ छ। 

'अहिले बजार घटेको अवस्थामा अतालिनु आवश्यक छैन, सुनौला दिन आउँदैछन्। यो सरकारले २६५ साता काम गर्दैछ। एक साताको समयलाई अहो के गर्ने भन्ने अवस्था होइन' उनले भने।


प्रकाशित : सोमबार, चैत २३ २०८२१८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend