काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग जोडिएको पछिल्लो घटनाक्रमले सेयर बजारमा व्यापक हलचल ल्याउँदा बजार निरन्तर घट्दोक्रममा देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्ला कारोबार दिनहरूमा लगातार ओरालो लाग्दै लगानीकर्ताको मनोबल कमजोर बनाएको छ।
चुनावपछि उकालो लागेको सेयर बजार पछिल्लो समय सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग जोडिएका घटनाक्रमका कारण दबाबमा पर्दै निरन्तर घट्दो क्रममा देखिएको छ। नेप्सेका अनुसार आइतबार बजार १०५ दशमलव ५० अंक (३ दशमलव ७९ प्रतिशत) ले घटेर २ हजार ६७६ दशमलव ६८ विन्दुमा बन्द भएको छ।
चुनावअघिको अन्तिम कारोबार दिन फागुन १९ गते बजार २ हजार ७१२ दशमलव ४९ अंकमा बन्द भएको थियो। त्यसयता नयाँ सरकार बनेपछि बजारले नयाँ उचाइ लिने अपेक्षा गरिए पनि वास्तविकता भने त्यसको ठीक उल्टो देखिएको छ।
प्रतिनिधिसभा निर्वाचनपछि फागुन २५ गते खुलेको बजारले ६ प्रतिशतको सर्किट हानेर २ हजार ८७५ दशमलव ४३ अंकसम्म पुगेको थियो। तर त्यसपछि बजारमा देखिएको उतारचढाव पछिल्ला दिनमा स्पष्ट गिरावटमा परिणत भएको छ। विशेषगरी चैत ११ गतेयता भएका ८ कारोबार दिनमा मात्रै नेप्से २५८ दशमलव ८३ अंकले घटेको छ भने सरकार गठनपछिका ६ कारोबार दिनमै २८२ दशमलव १७ अंकको गिरावट आइसकेको छ।
यद्यपि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। गत बिहीबार ८ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आइतबार १२ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जसले बजारमा उच्च गतिविधि कायम रहेको संकेत गर्दछ।
बजार विश्लेषक तथा ब्रोकरहरूका अनुसार पछिल्लो गिरावटमा सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग जोडिएका घटनाक्रम मुख्य कारकका रूपमा देखिएका छन्। व्यवसायी दीपक भट्ट पक्राउ परेपछि उनीसँग सम्बन्धित अन्य लगानीकर्ता तथा व्यवसायीहरू समेत छानबिनको दायरामा पर्न सक्ने त्रासले बजारमा मनोवैज्ञानिक दबाब सिर्जना भएको उनीहरूको भनाइ छ।
विशेषगरी सेयर कारोबारमार्फत ठूलो लगानी विस्तार गरेका समूहहरूमा सरकारको आगामी कदमबारे अनिश्चितता बढ्दा लगानीकर्ताहरू सतर्क बनेका छन्। अर्को महत्वपूर्ण पक्ष भनेको अनुसन्धानका क्रममा सेयर बजारमा सूचीकृत विभिन्न कम्पनीहरूको नामसमेत जोडिनु हो। यसले ती कम्पनीहरूको सुशासन र पारदर्शितामाथि प्रश्न उठाएको छ।
ब्रोकरहरूका अनुसार अपारदर्शी वित्तीय कारोबारका लागि सूचीकृत संस्थामार्फतै रकम भुक्तानी भएको विवरण सार्वजनिक हुनुले लगानीकर्ताको विश्वासमा धक्का पुगेको छ। यसले समग्र बजार मनोविज्ञान कमजोर बनाएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रकरणमा शुक्रबार पक्राउ परेका भट्टले विभिन्न कम्पनीहरूको सेयर खरिद गर्दा आफ्नै खाताभन्दा बाहिरका स्रोतबाट रकम भुक्तानी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। नेपाल पुनर्बीमा कम्पनी लगायतका संस्थाको सेयर खरिदमा अन्य खाताबाट रकम प्रयोग गरिएको देखिएको छ।
अनुसन्धानअनुसार हिमालयन रि इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड, यसको सहायक हिमालयन सेक्युरिटिज मार्फत २२ करोड १९ लाख, नेपाल माइक्रो इन्स्योरेन्स बाट १६ करोड १७ लाख, नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट ३७ करोड तथा एचएलआई लार्ज क्याप फन्डबाट २५ करोड १४ लाख रुपैयाँ गरी कुल ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको रकम प्रयोग भएको पाइएको छ।
अब यस प्रकरणको अनुसन्धान कसरी अघि बढ्छ भन्ने कुराले सेयर बजारको आगामी दिशा निर्धारण गर्नेछ। अहिलेका लागि भने अनिश्चितता र मनोवैज्ञानिक दबाबकै कारण बजार ओरालो यात्रामै रहने संकेत देखिएको छ।